विदेशबाट घर फर्किनेलाई सम्मान गरौँ

 जेठ ३२, २०७७ आइतबार ७:१४:२४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

फाइल तस्बिर

‘यहाँ त गाडी आयो भने सबैले कोरोना आयो भन्छन्’, सुदूरपश्चिम प्रदेशका एक जना साथीको यो भनाइले मेरो मथिङ्गल हल्लियो । मन अमिलो भयो । सोधें : धेरैले भन्छन् कि कसैकसैले ? साथीले भन्नुभयो : ‘बजारमा गाडी आयो कि बच्चादेखि पाको उमेरसम्मकाले कोरोना ल्यायो कोरोना भन्दै कराउँछन्, भारतबाट घर फर्किएका जो कसैलाई पनि कोरोना भन्ने गरेका छन् ।′

त्यसबेला कामका लागि भारत गएका नेपालीहरु घर फर्किरहेका थिए । लकडाउनकै अबधिमा आएका उनीहरुलाई सीमा क्षेत्रबाट सम्बन्धित पालिकाले उद्धार गरेर  पालिकाकै क्वरेण्टीनमा राखिरहेका थिए । 

भारतमा कोरोनाको संक्रमण फैलिएपछि काम ठप्प भयो । रोजिरोटी गुमेको हप्तौंपछि भारत सरकारले उनीहरुलाई सीमा क्षेत्रसम्म आउने वातावारण बनायो । संक्रमणको चिन्ता त थियो नै, गर्मी र भोकतिर्खासँग जुध्दै उनीहरुले मातृभूमीमा पाईला राख्न पाएका थिए ।

सीमा क्षेत्रमा नेपालको टीठलाग्दो व्यवस्थापनमा अझै पीडा थपियो । पीडा बोकेर गाउँ पुगेका उनीहरु चढेको गाडी देख्नासाथ मानिसहरु कोरोना ल्यायो भन्दै चिच्याउँदा उनीहरुको मनमा के बित्यो होला ? त्यो भोग्नेले मात्र महसुस गर्न सक्छ । 

क्वरेण्टीनमा गरिएको व्यवहार त कुरै नगरौं । सरकारले आधारभूत सुविधा क्वरेण्टीनमा चाहिन्छ भनेर बुझेन । ठूलै अपराधीलाई सजाय दिन एक ठाउँमा भेला गरेको जस्तै व्यवहार भएको क्वरेण्टीनमा बसेकाहरु बताउँछन् । भलै केही ठाउँमा राम्रै व्यवस्थापन थियो । सरकार, समाज सबैले उनीहरुलाई दोषी देखिरहे । मानौं उनीहरु ठूलै अपराध गरेर आएका छन् । 

अहिले पनि क्वरेण्टीनमा पीडा सहनु परेकै छ । क्वरेण्टीनमा अभाव छ, लामखुट्टे सर्प लगायतको डर छ । पिउने पानी र पेट भरिने खाना सजिलै पाईंदैन । तर यी सबैभन्दा बढी पीडा समाजले हेर्ने दृष्टिमा छ ।

क्वरेण्टीनमा बसेरै घर फर्किएपछि पनि कथित अछुतकै व्यवहार गरेको गुनासो बढिरहेको छ । गाउँमा कतै कोरोनाको संक्रमण दखियो भने यी भारतबाट आएकाहरुले गाउँ खत्तम बनाए भन्ने तुच्छ वचन अहिले भारतबाट घर फर्किएकाहरुले सुन्नु परेको छ । 

गाउँले मात्रै हो र संसदमा सांसदले नै भारतबाट आउनेहरुको कारण कोरोना संक्रमण बढेको भन्दै उनीहरुलाई रोक्नुपर्ने माग गरे । हुँदा हुँदा संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री स्वयंले कोरोना बढ्नुको कारण भारतबाट आएकाहरु भन्दै दोष उनीहरुलाई नै लगाइदिए । 

हो सबैलाई थाहा छ, ८० प्रतिशत भन्दा धेरै संक्रमण भारतबाट आएकाहरुमै छ । धेरै भाइरस उतैबाट आएकाहरुसँग आएको हो । तर के उनीहरुले जानी जानी वा रहरले भाइरस ल्याएका हुन् ? सांसद वा सरकारले उनीहरुमाथि आरोप लगाउन पाउँछ ? लकडाउनको घोषणा गर्नुभन्दा अघि नै सरकारलाई भारतबाट लगभग यति नागरिक घर फर्कन्छन्, अरु देशमा यति छन् भन्ने थाहा थियो ।

लकडाउनको सुुरुमा फर्किएकाहरुमा संक्रमण थोरैमा मात्र भेटिएको हो । तर पछि सरकारसँग तयारीको लागि पर्याप्त समय थियो । तर सरकारले नागरिकलाई घरमै थुनेर गर्यो के त ? 

विदेशमा रहेका आफ्ना नागरिक घर फर्कन्छन्, उनीहरुलाई सुरक्षितसँग नेपाल ल्याएर तोकिएको समय क्वरेण्टीनमा राख्नुपर्छ भन्ने कुरा सरकारले बुझेन कि बुझेर पनि बुझ पचायो ? लकडाउन शुरु भएको दुई महिनापछि घर फर्किएकाहरुलाई दोष दिन मिल्छ ? सरकारले तयारी गरेको भए पर्याप्त समय थियो र व्यवस्थित रुपमा ल्याएर राख्न सक्थ्यो, जसले गर्दा घर फर्किएकाहरुमा संक्रमण भए पनि अरुमा फैलन डर हुन्नथ्यो । 

भारतबाट घर फर्किएकाहरुमाथि सरकारले अन्याय गरेको छ भने समाजले पनि पीडा थपिरहेको छ । यो रोकिनुपर्छ । तेश्रो देशमा समस्यामा परेकाहरुलाई पनि सरकारले उस्तै पीडा दिइरहेको छ । काम रोकिएर खान र बस्नकै समस्या भोगिरहेका नेपालीलाई बेलैमा देश फर्काउनु त कता कता विभिन्न देशले तिम्रा नागरिक पठाईदिन्छौं भन्दा पनि यहाँ राख्ने ठाउँ बनाइएन ।

लामो समय विदेशी भूमीमा तड्पिएका नागरिकलाई नेपाल फर्काउने बेलामा पनि सरकार आफै नियमित भन्दा तेब्बर भाडा तोक्छ । के यो बेला सरकार आफैंले वा नियमित भाडाको भार मात्र फर्किनेहरुलाई पर्ने गरी व्यवस्था गर्न सरकारले सक्दैन ? 

नेपालमा संक्रमण देखिएर लकडाउन नै गर्नुपर्ने अवस्था आएको तीन महिनासम्म पनि सरकारले तयारी पूरा गर्न सकेन । उल्टै विदेशबाट नआउने हो भने यहाँ संक्रमण फैलंदैनथ्यो भनिरहेको छ । त्यो त सबेलाई थाहा छ । चीनको वुहानमा देखिएको भाइरस विश्वका दुई सय १३ देशमा हावाबाट पुगेको हैन । मान्छेबाट नै हो । नेपालमा अरु देशमा मानिसलाई ल्याउ भनकै हैन । आफ्ना नागरिक पीडामा पर्दा भाइरस आउँछ भन्दै दोष दिएर बस्न मिल्छ ? 

रहरले गएकाहरुलाई त्यस्तो व्यवहार गर्यो भने चित्त बुझ्ला । तर यहाँबाट लाखौं नेपाली रहरले विदेश गएका छैनन् । बाध्यता हो । नेपाली नागरिकता त्यागेका, अरु देशमा स्थायी बसोबासको अनुमति लिएकाहरुको बारेमा देश संकटमा परेको बेला खोजी नगर्दा पनि केही हुन्न ।

तर यहाँ रोजगारी नपाएर केही हजारको लागि विदेशी भूमिमा पसिना बगाइरहेकाहरुलाई संकटमा सम्मानका साथ देश फर्कने अवस्था सरकारले बनाउनुपर्ने हैन र ? मौसमी काम गरेर केही हजार लिन परिवार छाडेर भात जाने कर्णाली तथा सुदूरपश्चिमका नागरिक हुन् वा खाँडीको धुपमा पसिना बगाएर महिनाको केही हजार कमाउनेहरुकै कारण हाम्रो अर्थतन्त्र चलेको छ भन्ने कुरा सरकारले नबुझेको कि बुझ पचाएको ? 

यहीँ रोजगारी पाईँदो हो, कुनै दल वा व्यक्तिको पुच्छर नबनीकनै क्षमताले अवसर जुराउँदो हो, मुठीभरीका मान्छेले सरकारी सम्पत्ति दुरुपयोग गरी अरुमाथि गर्ने थिचोमिचोको व्यवहार नहुँदो हो, गाउँगाउँमा शिक्षा र स्वास्थ्यको राम्रो सुविधा हुँदो हो त अरुको देशमा गएर गुलामी गर्ने मन कसैलाई हुँदैन ।

यो गर्नुपर्ने सरकारले हो, तर नगरेपछि बाध्य भएर अरुको भूमिमा पुगेर विदेशी मुद्रा नेपाल पठाउने नेपालीलाई संकटमा उद्धार सरकारको जिम्मेवारी नै त हो नि । यसमा उनीहरुलाई किन दोष दिनु पर्‍यो ? 

अनि समाजले पनि बुझ्नुपर्छ कि रोग भन्ने कुराले कसैलाई छुट्याउँदैन । जुनबेला जसलाई पनि लाग्छ सक्छ । विदेशबाट फर्किएकाहरुले जानीजानी रोग ल्याएका हैनन्, उनीहरु घर फर्किनु बाध्यता छ ।

निश्चित समय व्यक्तिगत दूरी कायम गर्ने÷गराउने, अरु सावधानीका उपाय अपनाउनुपर्छ, तर अपराधी वा कथित अछुतझैं व्यवहार मानवीयता विरोधी छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया