दाङ : क्वरेन्टीनमै बिहे !

 असार २, २०७७ मंगलबार ९:३४:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा एक जोडीले वडाध्यक्षको उपस्थितिमा आइतबार क्वरेन्टीनमै अन्तरजातीय विवाह गरेका छन् । 

घोराही उपमहानगरपालिका-१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घाेराही उपमहानगरपालिका-१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका-५ की २१ वर्षीया सीता चाैधरीबीच वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको थियो । 

भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताउनु भयो। ‘उनीहरु माया प्रेममा रहेको र घर सल्लाहमै बरपिपल साक्षी राखेर मैले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको हुँ’, वडाध्यक्ष अर्यालले भन्नुभयो।

आफूले पीसीआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नाे संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते सामान्य ढंगले विवाह गराइदिएको उहाँले जानकारी दिनुभयो। 

उनीहरु जेठको पहिलो सातामात्रै घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए । झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ । 

त्यसै क्वरेन्टीनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ । 

रिपोर्ट नेगटिभ आएकाले उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वरेन्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको पनि वडाध्यक्ष अर्यालले बताउनु भयो । उहाँले एक हप्ता अलग्गै बसिसकेपछि मात्रै एकअर्काको सम्पर्कमा आउन दिनेगरी पठाएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया