सात वटै प्रदेशको बजेट : स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता

 असार २, २०७७ मंगलबार १२:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सात वटै प्रदेशले सोमबार बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशको बजेटमा स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

प्रदेश १ :

प्रदेश १ ले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८को बजेटमा बिराटनगरमा रहेको कोरोना उपचार केन्द्रलाई सरुवा रोग उपचार केन्द्रका रुपमा विकास गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कोरोना जनसुरक्षा कोषको लागि पर्याप्त श्रोत व्यवस्था गरिएको र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट घटाएको समेत बताउनुभएको छ ।

प्रदेश २ :

स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकता दिएर प्रदेश २ सरकारले ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक विवरणमा चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार विनियोजन गरिएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न ४५ करोड ५३ लाख, क्यान्सर अस्पताल, ट्रमा सेन्टर र सरुवा रोग तथा महामारी अस्पतालका लागि बजेट छुट्टाइएको छ ।

सर्पदंश उपचारका लागि एन्टिभेनम उत्पादन गर्न अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न ५ करोड ५४ लाख रुपैयाँ छुटयाइएको छ । बजेटमा स्वास्थ्य सेवा बाहेक कृषि, शिक्षा र रोजगारीलाई प्रदेश सरकारले जोड दिएको मन्त्री यादवले उल्लेख गर्नुभयो । 

वाग्मती प्रदेश :

वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७७-७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा चार अर्ब रुपैयाँ बढीको हो ।

वाग्मती प्रदेश सरकारले बजेटमा किसानलाई प्राथमिकता दिएको छ । कृषि र खाद्यान्नमा सहयोग पुग्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको हो । वाग्मती प्रदेशमा बाँझो रहेका खेतबारीमा खेती गर्नेका लागि सहयोग गर्ने उल्लेख छ । 

गण्डकी प्रदेश :

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

वित्तीय व्यवस्थातर्फ ५० करोड बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । कोरोना महामारीको व्यवस्थापन, स्वास्थ्य क्षेत्रको सुदृढीकरण र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दा चालु आर्थिक वर्षको अनुपातमा भौतिक पूर्वाधार विकासको क्षेत्रमा भने बजेट विनियोजन कम हुन गएको मन्त्री गुरुङले बताउनुभयो ।

प्रदेश ५ :

प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा बजेट पेश गर्नुभयो ।

बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार विनियोजन गरिएको छ । बजेटमा स्वास्थ्य क्षेत्र, पूर्वाधार विकास, सूचना प्रविधिको विकास र उपयोगमा जोड दिइएको छ । 

कर्णाली प्रदेश :

कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण, भोकमरी, कृषि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर आर्थिक वर्ष २०७७-७८ को बजेट ल्याएको छ ।  सरकाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले पुँजीगत तर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार, चालु तर्फ ११ अर्ब ६७ करोड र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सुदूरपश्चिम प्रदेश :

सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगत तर्फ १६ अर्ब ७२ करोड ८४ लाख बजेट विनियोजन भएको छ ।  प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाई, उर्जालाई प्राथमिकता दिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया