सिल गरिएकाे चैनपुरको स्वास्थ्य केन्द्र सञ्चालनमा आयाे

 असार ३, २०७७ बुधबार २०:२९:१६ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको ज्यान गएपछि सिल गरिएको स्वास्थ्य केन्द्र बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ । 

गएको सोमबार स्वास्थ्य केन्द्रमा उपचाररत एक बिरामीको ज्यान गएपछि स्थानीय प्रशासनले स्वास्थ्य केन्द्र सिल गरेको थियो । स्वास्थ्य केन्द्रमा ज्यान गुमाएका झापाका ३५ वर्षीय पुरुषकाे स्वाब परीक्षणकाे लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो ।

स्वाबकाे पीसीआर रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य केन्द्रमा बिहीबारदेखि सेवा सञ्चालन गरिएको चैनपुर ६ का अध्यक्ष तथा स्वास्थ्य केन्द्र अध्यक्ष नेत्रबहादुर डाँगीले बताउनुभयो । यो केन्द्रमा रहेका ती पुरुषमा ज्वरो, रुघाखोकी, स्वासप्रश्वास समस्याजस्ता कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । त्यसैले रिपोर्ट नआएसम्म शव उठाउन दिइएको थिएन ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार बिहान शव परिवारको जिम्मा लगाइएको समेत वडाध्यक्ष डाँगीले जानकारी दिनुभयो । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि स्थानीयमा त्रास कम भएकाे र स्वास्थ्य केन्द्रमा सेवा सञ्चालन गरिएको वडाध्यक्ष डाँगीको भनाइ छ । 

सङ्खुवासभामा अहिलेसम्म दुई जना मात्रै सङ्क्रमित भेटिएको छ । जिल्लाबाहिरबाट भित्रिनेहरुलाई नाकाहरुमा कडाइ गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया