भक्तपुर : प्रहरीसहित तीन जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिल

 असार ४, २०७७ बिहीबार ९:३४:२० | रासस
unn.prixa.net

भक्तपुर - भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भइ परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वरेन्टीनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सञ्चार कक्षलाई सिल गरेका छौँ, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वरेन्टीनमा राखेका छौँ, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौँ ।”

क्वरेन्टीनमा राखेकाको आज स्वाब सङ्कलन गरी पीसीआरका लागि पठाइने र सङ्क्रमितको परिवारको पनि स्वाब सङ्कलन गरिने भएको छ । प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब सङ्कलन गरी पीसीआर गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हो । 

त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआरको नतिजामा ती पुरुषलाई सङ्क्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । 
    
त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वरेन्टीनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वरेन्टीनमा राखिएको र थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन जनालाई नै बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया