दैलेखमा पुग्याे पीसीआर मेसिन, एक हप्तामा परीक्षण सुरु हुने

 असार ६, २०७७ शनिबार २०:१४:२० | अमर सुनार
unn.prixa.net

दैलेख – नेपालमै सबैभन्दा बढी कोरोना सङ्क्रमित फेला परेको दैलेखमा कोभिड–१९ परीक्षण गर्ने पीसीआर मेसिन आइपुगेकाे छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको बचेको रकमबाट मेसिन ल्याइएको हो । 

दैलेख सदरमुकामको काँडाचौरदेखि भैँसेखोर सडक कालोपत्रे गर्न विनियोजन गरिएको ६ करोड रुपैयाँमध्ये ​बचेको एक करोड आठ लाख रुपैयाँमा पीसीआर मेसिन खरिद गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो । 

महाबु हुँदै कालीकोट-मुगु-हुम्ला जोड्ने सडकखण्डको काँडाचौरदेखि भैँसेखोर सडक कालोपत्रे गर्न पूर्वाधार विकास साझेदारी कार्यक्रमको लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा एकमुष्ठ ६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । 

दैलेख क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा संयोजक रहेको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको निर्णयबाट पीसीआर मेसिन खरिद गरिएको निर्देशक समितिका सदस्य प्रतिनिधि सभा सदस्य पार्वती बिसुन्खेले बताउनुभयो । 

जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढेको र सुर्खेतबाट रिपोर्ट आउन ढिला हुने गरेकाेले दैलेखमा मेसिन ल्याइएकाे नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले यो मेसिन जिल्लाका सात गाउँपालिका र चार नगरपालिका सबैको लागि उपयोग हुने बताउनुभयो । 

प्रयोगमा आउन एक हप्ता लाग्ने 

मेडिसोलुसन इन्टरनेशनल प्राली काठमाण्डौकाे ‘माइक्रोपेट्टे प्लस डी-ल्याब’ ब्राण्डको यस पीसीआर मेसिन १२ घण्टा चलाउँदा तीन सय वटा किटको रिपोर्ट निकाल्न सक्ने क्षमता रहेको कर्णाली प्रदेश प्रयोगशालाका बायोमेडिकल इञ्जिनियर राकेशकुमार साहले जानकारी दिनुभयो । 

पीसीआर मेसिन स्थापना गरेन प्रिफेवबाट बनाइएको भवनमा विद्युत् वाइरिङ्ग र फर्निचर व्यवस्थापन गर्न बाँकी रहेकोले सबै तयारी सकेर पीसीआर मेसिन प्रयोगमा ल्याउन एक हप्ता लाग्ने बायोमेडिकल इञ्जिनियर शाहले बताउनुभयो ।  

कोरोना सङ्क्रमित देशभरकै उच्च 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार दैलेखमा देशकै सबैभन्दा धेरै सात सय आठ जना, कपिलवस्तुमा ६ सय ७६, सिरहामा पाँच सय ४२ र महोत्तरीमा पाँच सय जनामा सङ्क्रमण देखिएकाे छ । यी चार वटै जिल्लालाई सरकारले कोरोना 'रेड जोन' काे सूचीमा राखेको छ ।  

तथ्याङ्क सच्याइएको 

कोरोना सङ्क्रमण जाँच्न पठाइएका स्वाब परीक्षणको क्रममा कर्णाली प्रदेश प्रयोगशाला सुर्खेतले बिहीबार पठाएको विवरणमा महाबु गाउँपालिका पुराना ३६ जना कोरोना पोजिटिभको तथ्याङ्क दोहोरिएको कारण त्यो अङ्क सच्याइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

बिहीबार परीक्षण गरिएकामध्ये महाबु गाउँपालिकाका दोहोरिएका ३६ समेत दैलेखका ९१ जनाको विवरण पठाउँदा दैलेखमा सात सय २१ जना पुगेको, शुक्रबार तीन जना र आज शनिबार थपिएका १९ जनासमेत सात सय ४४ पुगेको सङ्ख्यामा ३६ जना घटाएर दैलेखमा अब वास्तविक सङ्ख्या सात सय आठ जना मात्र रहेको भन्दै कार्यालयले तथ्याङ्क सच्याएको हाे 

संशोधन गरिएको तथ्याङ्कपछि अब दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय आठ जना पुगेको र अहिलेसम्म तीन सय चार जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएकाे स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन रेग्मीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया