सङ्खुवासभाको मकालुमा पहिरो, अरुण नदी आंशिक रुपमा थुनियो

 असार ७, २०७७ आइतबार १४:५:६ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – मकालु गाउँपालिका वडा नम्बर २ र ५ मा पर्ने बोयामफेदी भन्ने ठाउँबाट पहिरो झरेर अरुण नदीको केही भाग थुनिएको छ । 

केही दिनदेखि परेको अविरल वर्षाको कारण गए राति पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताउनुभयो । उहाँका अनुसार गए रातिको पहिरोले स्थानीय ललितबहादुर राई र उहाँका छोरा जयप्रकाश राईको सात जनाको परिवार विस्थापित भएको छ ।   

विस्थापित परिवारलाई घरबाट केही टाढा रहेको समथर भूभागमा राखिएको छ । ललितबहादुरको घरमाथिबाट झरेको पहिरोले अरुण नदी थुनिदा करिब ३ सय मिटर क्षेत्रमा पानी जमेर ड्याम बनेको छ ।   

ललितबहादुरको साथै २ नम्बर वडा सदस्य हिरालाल राई र बिर्खबहादुर राईको गोठसमेत उच्च जोखिममा परेको छ । पहिरोको कारण स्थानीयहरु त्रसित बनेका छन् । गए रातिदेखि गएको पहिरो अझै पनि रोकिएको छैन । अहिले पनि आंशिकरुपमा पहिरो झरिरहेको प्रहरीको भनाइ छ । घटनाको सम्पूर्ण विवरण आइ नसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रनाउ मल्लको भनाइ छ ।   

अरुण थुनिएपछि बहुचर्चित नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिन्दा र पुखुवा आसपास क्षेत्रसमेत जोखिममा परेको छ । अरुण नदीसँगै हेलुवाबेसी, चेवाबेसी, मनकामनालगायतका क्षेत्रका नदी आसपासका स्थानीयहरुमा जोखिम बढेको छ । 

स्थानीय प्रशासनले सतर्क र सचेत रहनसमेत आग्रह गरेको छ । यो क्षेत्रमा गएको वर्षसमेत पहिरोले ठूलो क्षति पुर्‍याएकाे थियो ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया