भारतकाे अवराेध : २० ट्रक अलैँची र चिया मेची पुलमा अलपत्र

 असार ७, २०७७ आइतबार २२:२७:४५ | रासस
unn.prixa.net

काँकडभिट्टा – पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातकाे लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र परेकाे छ ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् । रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन चिया र अलैँची छन् । ती वस्तु भारतको सिलगढी पठाइएको नेपाली व्यापारीले बताएका छन् । 

कोरोना महामारीको अवस्थामा समेत काँकडभिट्टा नाका खुला रहँदै आएको छ । भारतबाट जुनसुकै सामान पनि नेपाली नाका पार गरेर आउने गरेका छन् तर भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले कोरोनाको बहानामा सीमावर्ती पानी ट्याङ्की नाकामा नेपाली सामानलाई एकतर्फी रुपमा रोक्दै आएको छ ।

पानी ट्याङ्की भन्सार कार्यालयमा सम्पर्क गर्दा भारतको केन्द्रीय सरकारबाट नेपाली सामानलाई कुनै रोक लगाइएको छैन भन्ने जानकारी आएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्मा भन्नुहुन्छ, ‘तर नेपाली सामान लोड भएका गाडीलाई भारतीय भन्सार पुग्नुअघि नै त्यहाँको पुलिस र एसएसबीले रोक्ने गरेको छ ।’

गएको बिहीबार नेपालबाट कृषि वस्तु बोकेका २३ गाडी भारततर्फ गएका थिए । जसमध्ये दुई गाडी अलैँची र एक गाडी अम्रिसाे भने भारतीय प्रहरीले लैजान दिएको छ । 

लामो अवधिदेखि मेची पुलमा अलैँची र चियाजस्ता मूल्यवान् वस्तु अलपत्र अवस्थामा रहँदा सुरक्षाको समेत चिन्ता थपिएको छ । गाडीका चालकले पुलमै रातदिन बिताएर सामान र ट्रकको सुरक्षा गरिरहेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले प्रत्येक ट्रकमा डेढ करोड रुपैयाँभन्दा बढी मूल्यको अलैँची लोड गरिएको जानकारी दिनुभयो । 

उहाँले समस्याको समाधान गर्न केन्द्रीय सरकार र प्रदेश सरकारको विभागीय मन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो । नाकामा अवरोध नगर्न नेपालका तर्फबाट मन्त्रालय तहबाट पठाइएका पत्रको भारतले जवाफ नपठाएको महासचिव भट्टराईले बताउनुभयो ।

अबको विकल्प भने भारतको जोगबनी नाका हुनसक्ने भट्टराईको भनाइ छ । पश्चिम बङ्गाल सरकारले नाकामा अवरोध गरेको हुँदा बिहारको नाका जोगबनी प्रयोग गर्न सकिने सम्भावना छ ।

तर सामानको कोलकातामा प्रयोगशाला जाँच भएर रिपोर्ट पानी ट्याङ्की नाकामा आइसकेको हुँदा फेरि जोगबनी नाका प्रयोग गर्दा दोहोर्‍याएर प्रयोगशाला जाँच गर्नुपर्ने झन्झट हुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया