ओखलढुंगामा पनि भेटिए कोरोना सङ्क्रमित, अब रसुवा मात्रै सुरक्षित

 असार ८, २०७७ सोमबार ७:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमित दिनदिनै बढ्दै गएका छन् । हप्तामा ३ हजार २ सय ६६ जना सङ्क्रमित थपिएका छन् ।

गएको जेठ ३२ गतेसम्म ५ हजार ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता दिनहुँ सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । असार १ गते ४ सय ५१ जना, २ गते ३ सय ८०, ३ गते ५ सय ८६, ४ गते ६ सय ७१, ५ गते ४ सय २६, ६ गते ३ सय ३१ र हिजो ४ सय २१ जना थपिएका हुन् । 

योसहित नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९ हजार नाघिसकेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार कोरोना सङ्क्रमित ९ हजार २६ पुगेका छन् । अहिलेसम्म २३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

गएको जेठ ३२ गते रुकुमपश्चिममा संक्रमण पुष्टि भएको थियो । त्यसपछि सङ्क्रमण नदेखिएका ३ जिल्लामा पनि सङ्क्रमण भेटिएको छ । मनाङ, मुस्ताङ र ओखलढुंगामा सङ्क्रमण देखिएको हो । मनाङमा कपिलवस्तुबाट गएका कर्मचारीमा सङ्क्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद बिन्दु शर्माले बताउनुभयो ।

मुस्ताङमा ८३ वर्षका वृद्धमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो ओखलढुंगामा सङ्क्रमण भेटिएपछि ७६ जिल्लामा सङ्क्रमण भेटिएको पुष्टि भएको हो । ओखलढुंगाको लिखु गाउँपालिकाका २८ वर्षका युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताउनुभयो ।

तर स्वास्थ्य मन्त्रालयले ओखलढुंगामा सङ्क्रमण भेटिएको पुष्टि गर्न बाँकी छ । अब वाग्मती प्रदेशको रसुवामा मात्रै संक्रमण देखिएको छैन । कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया