चिनियाँ पक्षले मितेरी पुलसम्म नै सामग्री ल्याइदिने गरी नाका खोल्ने सहमति

 असार १०, २०७७ बुधबार १८:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी एक हप्ताभित्रै सञ्चालनमा आउने भएको छ ।

चिनियाँ पक्षले मितेरी पुलसम्म नै सामग्री ल्याउदिनेसहित केही शर्त पालना गर्ने गरी नाका खोल्ने सहमति भएको हो । रसुवा र जिलोङ काउन्टीको स्थानीय प्रशासनबीच बुधबार बसेको सीमा सुरक्षा बैठकले उच्च सुरक्षा सतर्कता अपनाएर नाका खोल्ने सहमति गरेको छ । 

सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोना सङ्क्रमण पनि फैलन सक्ने भएकोले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराउनुपर्ने छ  । 

नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन् । सुरुमा ट्रायलका लागि चिनियाँ चार वटा ट्रकले सामग्री लिएर मितेरी पुल आउने उहाँको भनाइ छ ।  

मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने उहाँले बताउनुभयो । मितेरी पुललाई यात्रु ‘प्यासेन्जर’ निषेधित क्षेत्र बनाइने छ । 

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण गएको माघ १५ गतेदेखि रसुवागढी नाका औपचारिक रूपमा बन्द भएको थियो । यसअघि सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रने सक्ने त्रासमा स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आयो । 

नाका सञ्चालनमा नआउँदा तीन महिनादेखि राजस्व सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री पनि निर्यात हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया