विराटनगर महानगरपालिकाले बजेटकाे आकार घटायाे

 असार १०, २०७७ बुधबार १९:५०:० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्षको लागि तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको  छ । विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आउँदो आर्थिक वर्ष २०७७/०७८ को बजेटकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे । 

आर्थिक वर्ष २०७६/७७ मा चार अर्ब १३ करोड ५० लाख ९२ हजार रुपैयाँ बराबरको आय अनुमान गरिएकोमा दुई अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आम्दानी भएको काकीले जानकारी दिनुभयो । अनुमान गरिएको भन्दा कम आम्दानी भएपछि महानगरले यो वर्ष आयको अनुमान घटाएको हो ।

आन्तरिक आम्दानीतर्फ ८९ करोड ८२ लाख ९६ हजार सात सय, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ ७६ करोड ८२ लाख ५२ हजार नाै सय ४० तथा सङ्घ र प्रदेश सरकारको समानीकरण अनुदानतर्फ दुई करोड १० लाख, विशेष अनुदान १३ करोड, प्रदेश सरकारको समपूरक अनुदान तीन करोड, सङ्घ संस्था अनुदान तीन करोड २६ लाख, जन सहभागिताबाट प्राप्त हुने नाै करोड दुई सय २६ लाख आम्दानी हुने अनुमान गरिएको उपप्रमुख कार्कीले बताउनुभयो ।

आम्दानीको कुल अनुमानमा महानगरपालिकाले प्रशासनिक खर्चमा ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड, फोहरमैला तथा वातावरणतर्फ ल्याण्डफिल साइडको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार, नगर स्वास्थ्य सङ्घीय सरकारको समेत गरी १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ सङ्घीय सरकारको समेत गरी ५६ करोड १३ लाख पाँच हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरिएको छ ।

महिला बालबालिका युवा विकास र खेलकुदको लागि दुई करोड नाै लाख २४ हजार, अन्य कार्यक्रमतर्फ ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पुँजीगत खर्चको लागि एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया