दाङमा लकडाउनकाे माैका छाेपेर काठ तस्करी, २८ जना कारबाहीमा

 असार ११, २०७७ बिहिबार १७:३९:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सरकारी कार्यालयमा अत्यावश्यक बाहेक अन्य काम बन्द गर्ने गरी जारी गरिएको लकडाउनको समयमा दाङमा काठ तस्करी तथा वन्यजन्तु सिकारका १६ वटा घटना भएका छन् । 

ती घटनामा २८ जना कारबाहीमा परेका छन् भने पाँच वटा गाडी नियन्त्रणमा लिइएकाे छ । कोरोना सङ्क्रमण जोखिमकाे कारण गरिएको लकडाउनको झण्डै तीन महिनाको अवधिमा जिल्ला वन कार्यालयले अवैध रुपमा काटेका झण्डै आठ सय क्यु फिट काठ बरामद गरेको छ । चिरान गरिएका काठसँगै ती काठ ढुवानी गर्न प्रयोग गरिएका गाडी पनि गस्ती टोलीले नियन्त्रणमा लिएकाे जिल्ला वन कार्यालय दाङले जनाएको छ । 

लकडाउनको समयमा काठ चोरी, तस्करीका घटना धेरै भएको वन कार्यालयको तथ्याङ्कले देखाएको छ । यो अवधिमा भएका काठ तथा वन्यजन्तु चोरी निकासीका १६ वटा घटनामा २८ जनालाई कारबाही गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

उनीहरुकाे साथबाट काठ ओसारपसार गरिरहेको एउटा बस, चार वटा मोटरसाइकल र तीन सय थान गोलीसहित दुई थान भरुवा बन्दुक र चार वटा ट्र्याक्टर र एउटा डाेजर नियन्त्रणमा लिइएकाे डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो । नियन्त्रणमा लिइएकाे तीन सय सय ५० क्यु फिट सालको काठ र चार सय ५० क्यु फिट सिसौका काठको मूल्य २० लाख रुपैयाँ बराबरको भएको डिभिजन वन कार्यालयको भनाइ छ ।

लकडाउनकाे समयमा हुन सक्ने चोरी, निकासी रोक्न गस्ती बढाइएकाेले अवैध गतिविधि गर्नेहरु पक्राउ परेकाे ज्ञवालीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया