दुबईबाट शनिबार बिहान १ सय ५३ जना बोकेर जहाज उड्यो, २ जना फर्किन पाएनन्

 असार १३, २०७७ शनिबार ७:५५:३८ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब एमिरेट्स (यूएई)को दुबईबाट नेपाल एअरलाइन्सको पहिलो चरणको अन्तिम चार्टर्ड बिमान उडेको छ । यूएईको दुबईबाट शनिबार बिहान १ सय ५३ जना नेपाली बोकेर नेपाल एअरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबडी जहाज नेपालका लागि उडेको हो ।

यो उडान उद्धारको पहिलो चरण अन्तरर्गत अन्तिम उडान हो । नेपाल एअरलाइन्सले यसअघि गएको जुन १९ र २२ मा दुई उडान भरेको थियो ।

शनिबार फर्किएका सबैजना दूतावासको प्राथमिकतामा परेकाहरु हुन् । फर्किनेमध्ये १८ महिला र १३५ जना पुरुष रहेका छन् । फर्किने महिलामध्ये ४ जना गर्भवती र २ जना बिरामी छन् ।

यस्तै १० जना यूएईको सीटीमेड फ्यासिलीटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत रहेको र कम्पनीले काम र बस्ने ठाउँबाट निकालेपछि समस्यामा परेका महिला छन् । नेपाली दूतावासका अनुसार फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा महिनौंदेखि समस्यामा परेका १ सय २० जना पुरुष पनि फर्किएका छन् । 

त्यस्तै सारजाहको इमिरेट्स क्याब ट्याक्सी कम्पनीमा काम गर्ने १२ जना पुरुष पनि शुक्रबारको उडानबाट नेपाल फर्किएको दूतावासले जनाएको छ ।

नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ३ सय ६० अमेरिकी डलर अर्थात १३ सय २० यूएई दिर्हाम ९करिव ४० हजार रुयैयाँ० दरले टिकट लिनुभएको हो । नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोभिड परीक्षण गरिएको थियो । कोरोना परीक्षणको प्रमाणपत्र साथमा लिएर उहाँहरु नेपाल फर्किनुभएको हो ।

स्वदेश फर्किएका नेपालीलाई दूतावासकी श्रम काउन्सिलर निर्मला थापा, श्रमसहचारी मोतिराम भुसाल, जनसम्पर्क अधिकृत इरफान आलम, रजी अन्सारी, तथा अन्य कर्मचारीले विमानस्थलमै पुगेर बिदा गर्नुभएको थियो । यस्तै दुबई प्रशासनबाट परिचालित द्रुत उद्धार अभियानका नेपाली संयोजक एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पा, कोषाध्यक्ष विकास शाही, मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली लगायत स्वयमसेवकको रुपमा विमानस्थलमा खटिनुभएको थियो ।

दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण नेपाल एअरलाइन्समार्फत पहिलो चरणको उडान सकिएको दूतावासले जनाएको छ ।

नेपाल एअरलाइन्सको अर्को उडान छिट्टै सार्वजनिक गरिने नेपाल एअरलाइन्सको यूएई हेर्ने आधिकारिक एजेन्सी एन्टाका सजु पौलले उज्यालोलाई जानकारी दिनुभयो । स्वदेश फर्कन चाहेकाहरुको सूची दूतावासले प्रकाशन गरेर एयरलाइन्समा दिएपछि त्यही सूचीको आधारमा एअरलाइन्सले सम्बन्धित व्यक्तिहरुलाई उडान हुने मिति र टिकट काट्ने स्थानका बारेमा जानकारी गराउने नेपाल एअरलाइन्सका कन्ट्री म्यानेजर टिकाराम पङ्गेनीले बताउनुभयो ।

दुई जना फर्किन पाएनन्

यूएई आएको पहिलो दिनदेखि नै अलपत्र परेका रामपुर १२ कलैया बाराका शिव वचन शाह रौनियार र अजय महतो भने यस उडानबाट स्वदेश फर्किन पाउनुभएन । नेपाल फर्किन नेपाली दूतावासको सहयोगमा हवाइ टिकटको व्यवस्था गरेर उहाँहरुलाई विमानस्थल लगिएको थियो । 

उहाँहरुको कोरोना परीक्षण गरेर बोर्डिङ पास पाएपछि पनि कानुनी प्रक्रिया पूरा नभएकोले स्वदेश फर्किन नपाउनुभएको हो । अब आउँदो उडानमा एअरलाइन्ससँग समन्वय गरेर उहाँहरुलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया