चीनको हिबेई प्रान्तमा लकडाउन, झण्डै ४ लाख मानिस प्रभावित

 असार १५, २०७७ सोमबार १२:५२:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनको राजधानी बेइजिङको निकट हिबेई प्रान्तमा कोरोना सङ्क्रमण देखिएपछि कडा रुपमा लकडाउन गरिएको छ । 

लकडाउनको कारण झण्डै चार लाख मानिस प्रभावित भएका छन् । यो लकडाउन हिबेई प्रान्तको एनसिनमा लगाइएको हो, जुन राजधानी बेइजिङ नजिक पर्छ । 

गएको वर्षको अन्त्यतिर चीनबाट नै कोरोना सङ्क्रमणको सुरुवात भएको थियो तर त्यसपछि चीनमा सङ्क्रमणको दर कम हुँदै गइरहेको छ । 

तर सङ्क्रमणको दोस्रो लहरको आशङ्काको कारण कोरोनालाई लिएर सरकार सतर्क भएको छ भने चीनका स्वास्थ्य अधिकारीहरुले पनि यसलाई निकै गम्भीरतापूर्वक लिएका छन् । 

चिनियाँ अधिकारीहरुले एनसिनमा पूर्णरुपमा घेराबन्दी गरिने र सबै कुरा नियन्त्रणमा हुने आइतबार नै बताएका थिए । आवश्यक सेवासँग जोडिएका व्यक्तिलाई मात्र घरबाहिर जान अनुमति हुनेछ तर घरको अरु आवश्यक सामान लिनको लागि एक जना व्यक्तिमात्र घरबाहिर जान पाउनेछ । 

यदि कसैले नियमको उल्लङ्घन गरेमा ती व्यक्तिलाई प्रहरीले कारबाही गर्ने अधिकारीहरुले चेतावनी दिएका छन् । एनसिन राजधानी बेइजिङबाट एक सय ५० किलोमिटर दक्षिणमा पर्छ । 

अन्य धेरै देशको तुलनामा कोरोना सङ्क्रमणको दर चीनमा निकै कम छ । तर पछिल्लो समय राजधानी बेइजिङमा सङ्क्रमण देखिन थालेपछि चिनियाँ अधिकारी चिन्तित बनेका छन् । 

चीनमा अहिलेसम्म ८३ हजार पाँच सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया