कञ्चनपुर : चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोह पक्राउ, यातायातका कर्मचारी पनि संलग्न

 असार १५, २०७७ सोमबार १६:२:६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – चोरीका मोटरसाइकलको नक्कली कागजात बनाएर किनबेच गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले मोटरसाइकल चोरी गरी नक्कली कागजात बनाएर किनबेच गर्दै आएको गिरोहमा संलग्न १२ जनालाई पक्राउ गरेको हो । 

सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चोरीका विभिन्न कम्पनीका आठ वटा मोटरसाइकल, मोबाइल र नक्कली बिलबुकसहित १२ जनालाई सार्वजनिक गरेको छ । जसमध्ये नक्कली बिलबुक बनाएको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । 

यस्तै मोटरसाइकल चोरी तथा बिक्रीमा संलग्न रहेको अभियोगमा कञ्चनपुरको लालझाँडी गाउँपालिका १ का ४२ वर्षीय रामविलास राना, ४ का ३५ वर्षीय बहादुर राना र राम दयाल रानालाई पक्राउ परेका छन्  । 

त्यस्तै वेदकोट ५ का लक्ष्मी राना, प्रदीप राना, ६ का राजकुमार राना, रामलाल, हरेन्द्र राना, १० का ३० वर्षीय सुवेश राना र शुक्लाफाँटा १२ घर भइ धनगढीमा बस्दै आएका श्याम राना रहेका छन् । 

मोटरसाइकल चोरी तथा बिक्रीमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि सोधपुछकाे क्रममा यातायात कार्यालयका कर्मचारीद्वयमार्फत नक्कली बिलबुक बनाउने गरेको तथ्य खुलेको कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बताउनुभयो । 

उहाँले विशेष सूचनाको आधारमा प्रदेश प्रहरी र कञ्चनपुर प्रहरीको सहयोगमा आठ वटा चोरीका मोटरसाइकल किर्ते कागजात बनाइ चोरीका मोटरसाइकल बिक्रीमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरिएको बताउनुभयो । 

पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको र उनीहरुमाथि सरकारी छाप किर्ते अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।    

अन्तिम अपडेट: बैशाख १४, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया