औद्योगिक क्षेत्रमा कोरोनाको जोखिम, निर्मलीकरण नगरि नेपाल भित्रिन्छन् भारतीय सवारी

 असार १६, २०७७ मंगलबार १८:३९:१८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिका १० का एक व्यापारीले सोमबार राति भारतीय गाडीमा ट्रेडिङका लागि आवश्यक सामान ल्याए । भारतको हरियाणाबाट आएको सवारीमा के ल्याइएको थियो र सामान बोक्नको लागि को आएको थियो भनेर स्थानीयले चासो देखाए ।

राति १० बजेतिर सामान झारेर गाडी फर्किएको थियो । फर्किन लागेको गाडीलाई स्थानीयले सोधी खोजी गर्दा चालक र् सहचालकलाई भन्सार कार्यालयबाट कुनै परीक्षण नै नगरि पठाइएको पाइयो । गाडीका चालक र सहचालकलाई स्थानीयले करेण्टीनमा बस्न आग्रह गरेका थिए । तर उनीहरु त्यहाँबाट गाडी लिएर भागेका थिए ।  

स्थानीयका अनुसार सामान झार्नका लागि आउनेहरु पनि भारतीय नै हुन् । त्यसको भोलिपल्ट महानगरपालिका १० का वडाध्यक्ष माधव वाग्लेले व्यापारीलाई भेटेर क्वरेण्टीनमा बस्न आग्रह गर्नुभएको छ । 

चालक र सहचालक राति नै भागे पनि व्यापारीका घरका सबैलाई क्वरेण्टीनमा बस्न भनिएको वडाध्यक्ष वाग्लेले बताउनुभयो ।

प्रदेश सभामा सुरक्षाको कुरा

प्रदेश १ का औद्योगिक क्षेत्र सञ्चालनमा छन् । अधिकांश उद्योग सञ्चालनमा आएसँगै भारतबाट कामदार ल्याएर उद्योगमा लगाउने गरेको बारेमा प्रदेश सभामा नै कुरा उठेको थियो ।

केही दिनअघि प्रदेश सभामा बोल्दै सांसद सावित्रा रेग्मीले औद्योगिक करिडोरमा सञ्चालित उद्योगमा काम गर्ने मजदुरको बारेमा उद्योगले सुरक्षाको लागि कुनै उपाय नै नअपनाएको बताउनुभएको थियो ।

जुन उद्योगमा मजदुर काम गर्छन्, ती उद्योगले ती मजदुरलाई त्यही राख्नुपर्ने, कोरोनाको सङ्क्रमण हुन नदिनको लागि पर्याप्त मात्रामा सुरक्षाको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको थियो ।

दैनिक २ सय बढी सवारी भित्रिँदै

विराटनगरको भन्सार नाका भएर दैनिक दुई सय बढी सवारी साधन नेपाल प्रवेश गर्दै आएका छन्  । यसरी आउने सवारी साधनहरु उद्योगसम्म नै पुग्ने गरेका छन् ।

यसरी आएका सामग्रीहरु सिधै नेपाली मजदुरसम्म पुग्ने गरेको छ । तर आउने सवारीका चालकलाई न पीपीईको व्यवस्था गरिएको छ न त कुनै स्वच्छताको प्रमाणपत्र नै खोजी हुन्छ । 

उनीहरु निर्वाध रुपमा नेपाल प्रवेश गर्दै आएका छन् । तातोपानी भन्सारमा चीनबाट आउने सामान र सवारीलाई भने १२ घण्टा क्वरेण्टीनमा राखेर ल्याउने व्यवस्था मिलाइएको भए पनि विराटनगर भन्सार कार्यालयमा भने त्यस्तो नभएको उद्योग सङ्गठन मोरङका निवर्तमान अध्यक्ष मुकेश उपाध्यायको भनाइ छ ।

खुलेआम गाडी र भारतीय कामदार आउन थालेपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समेत जानकारी गराइएको उहाँले बताउनुभयो । यसरी आउने गाडीहरु भारतको कोलकत्ता, हरियाणा, दिल्ली, मुम्बई गुजरातलगायतका ठाउँबाट आउने गरेका छन्   । 

भारतीय बजारबाट आउने कच्चा पदार्थ तथा विभिन्न सामग्रीहरु बोकेर आउने ढुवानीका साधनहरुको निर्मलीकरण नगर्ने गरिएको व्यवसायीकै भनाइ छ ।

यसबारेमा विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सुनिता पौडेलले सबै गाडी र सामानहरुमा पनि  स्प्रे गरेर पठाउने गरिएको जानकारी दिनुभयो । तर त्यसका चालक र सहचालकलाई भने ज्वरो जाँचेर फारम भराएर पठाउने गरेको बताउनुभयो । नाकामा स्वास्थ्यकर्मीसहित रहेकोले नेपाल प्रवेश गर्ने सवारी र चालकको बारेमा प्रचार गरिएको जस्ताे नभएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुको परीक्षणबाट अनुमति पाएपछि मात्र उनीहरु नेपाल प्रवेश गर्न पाउने उहाँको दाबी छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया