सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र

 असार १६, २०७७ मंगलबार २१:५६:२० | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले सेती नदी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले यस आयोजनालाई सोमबार विद्युत् उत्पादन अनुमतिपत्र दिएको हो । 

भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण सुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको निर्माण सुरु गरेको छ । 

यही असार ८ गते आयोजनाको कामलाई थप प्रभावकारी बनाउन र गुणस्तरमा ध्यान दिन हाइड्रो कन्सल्टलाई परामर्शदाताको रुपमा नियुक्त गरिएको थियो । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले आयोजनाका लागि अर्को महत्वपूर्ण निर्णय भएको जानकारी दिनुभयो । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका २ सार्दी खोलाको भराभरीमा निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य गएको वैशाख २२ गतेदेखि सुरु भएको हो । कुल पाँच अर्ब लगानीमा निर्माण गरिने आयोजनाको सुरुवातमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ । 

आउँदो २७ महिना भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य अनुसार कोरोना सङ्क्रमणको त्रासका बीचमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम सुरु गरिएको छ । भराभरीमा आयोजनाको बाँध निर्माण गरी ६ हजार चार सय मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका १९ सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत् गृहमा एक सय ८७ मिटर उचाइबाट पानी खसालिनेछ । 

आयोजनाबाट उत्पादित विद्युत् चार कीमी टाढा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । एक अर्ब २० करोड रुपैयाँ लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्ने गरी गएको माघमा भौतिक निर्माणको जिम्मा रसुवाले पाएको हो । 

सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन (प्रसारण लाइन) को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको छ । 

आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम स्वपुँजीका रुपमा लगानी हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा ६ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया