आज खाडी र मलेसियाबाट ९ उडानमार्फत आइपुगे १३ सय ४२ नेपाली, यूएईबाट मात्रै तीन उडान

 असार १७, २०७७ बुधबार १८:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज खाडी र मलेसियाबाट ९ उडानमार्फत १३ सय ४२ जना नेपाली स्वदेश आइपुगेका छन् । साउदी र कतारबाट गरी १२ नेपालीको शव पनि ल्याइएको छ । कोरोनाको कारण त्यहाँ समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् ।

त्रिभुवन विमानस्थलका अनुसार नेपाल एअरलाइन्सको जहाजमार्फत २९७ जना कतारबाट फर्किएका छन् भने त्यहाँ ज्यान गुमाएका एक नेपालीको शव पनि आज स्वदेश ल्याइएको छ

साउदीको रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५७ जना नेपाली काठमाण्डौ आएका छन् भने जहाजले ११ जना नेपालीको शव पनि ल्याएको छ ।

आज नेपाली ल्याउनका लागि यूएईबाट तीन उडान भएका छन् । हिमालय एअरलाइन्सले आबुधाबीबाट १५२ जना ल्याएको छ भने फ्लाई दुबईको जहाजमार्फत १५८ जना स्वदेश फर्किएका छन् । यस्तै दुबईबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४६ जना फर्किएका छन् ।

मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलान्सबाट १३ जना फर्किएका छन् । यो जहाजले नेपालबाट फर्कँदा २८ जना लिएर गएको छ ।

यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपालीहरु जजिरा एअरको दुई उडानमार्फत स्वदेश फर्किएका छन् । आममाफीमा सहभागी ३१९ जना आज स्वदेश फर्किएका विमानस्थलले जनाएको छ । आज नेपाली लिन नेपाल एअरलाइन्सका चार्टर्ड जहाज साउदीको जेद्दा र कुवेत जाँदैछन् । आज विमानस्थलमा नेपाली ल्याउन र लैजान गरी जम्म ११ वटा उडान भएको छ ।

भोलि खाडीका देश माल्दिभ्स र मलेसियाबाट ६ उडानमार्फत नेपाली फर्कने तालिका रहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया