उपत्यकामा सवारी दुर्घटनामा १४५ जनाकाे ज्यान गयाे, दुईपाङ्ग्रे धेरै

 असार २०, २०७७ शनिबार १०:४८:५८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै उपत्यकामा सवारी दुर्घटनाबाट १४५ जनाकाे ज्यान गएको छ । उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १४५ जनाकाे ज्यान गएको हो  जसमा ११७ पुरुष र २८ महिला  छन् । यस्तै २२९ व्यक्ति गम्भीर घाइते तथा छ हजार १९५ सामान्य घाइते भएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना हुने सवारीसाधनमध्ये दुईपाङ्ग्रे बढी रहेका छन् । जसमा छ हजार ६३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । यस्तै, छ हजार २२० कार, भ्यान र जीप, दुई हजार ३३ बस, एक हजार ६३२ ट्रक र टिपर, २६७ माईक्रोबस, १४५ टेम्पो र १३२ शारीरिक शक्तिबाट चल्ने सवारी साधन दुर्घटना भएका छन् । 

दुर्घटनामा ४७ पैदलयात्रु, ट्रकबाट पाँच, साइकलबाट पाँच, बसबाट छ, टिपरबाट तीन र कारबाट तीनजनाको मृत्यु भएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउनुहुन्छ । 'चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो', उहाँले भन्नुभयो । 

चालकको लापर्वाही, यात्रुको गल्ती, प्रतिस्पर्धाले उछिन्ने काम, तीव्रगति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहुँगो सामान बोक्दा धेरै दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।

काठमाण्डाै उपत्यकामा गएकाे वर्ष सवारी दुर्घटनाका कारण २५४ जनाको ज्यान गएको थियो । काठमाण्डाै उपत्यकामा हाल सानाठूला १२ लाख तथा देशभर झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया