पोहोरको तुलनामा झण्डै दोब्बर वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

 असार २१, २०७७ आइतबार ७:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यो वर्ष मनसुन सुरु भएपछि पोहोरकोभन्दा झण्डै दोब्बर बढी पानी परेको छ । मनसुन सुरु भएपछि अहिलेसम्म २६ दशमलव ८ मिलिमिटर  पानी परेको छ ।

गएको वर्ष यही अवधिमा जम्मा १३ दशमलव ३ मिलिमिटर मात्रै पानी परेको थियो । मनसुन अवधिभर नेपालमा सरदर १५ सय ३ दशमलव ५ मिलिमिटर पानी पर्ने गरेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद्  इन्दिरा कँडेलले जानकारी दिनुभयो । यस्तै देशका अरु  मुख्य स्टेशनमा मापन गरिएको सरदर वर्षा पनि औषतमा राम्रो भएको उहाँले बताउनुभयो ।

मनसुन अवधिभर काठमाण्डौ उपत्यकामा ११ सय ३० दशमलव ३ मिलिमिटर सरदर  पानी पर्ने गरेकोमा यो वर्ष ३ सय १९ दशमलव ६ मिलिमिटर अर्थात २८ दशमलव ७७  प्रतिशत पानी परिसकेको छ । यस्तै सरदरमा  ३१ सय ८९ दशमलव १ मिलिमिटर पानी पर्ने गरेको पोखरामा यो वर्ष ७ सय ७७ दशमलव ९ मिलिमिटर अर्थात् २४ दशमलव ३९ प्रतिशत पानी परिसकेको छ ।

सरदर  १५ सय ५७ दशमलव ६ मिलिमिटर पानी पर्ने विराटनगरमा यो वर्ष ७ सय ३७ दशमलव १ मिलिमिटर अर्थात् ४७ दशमलव ३२ प्रतिशत पानी परिसकेको छ । सरदरमा  १३ सय ३५ दशमलव २ मिलिमिटर पानी पर्ने नेपालगञ्जमा  यो वर्ष २ सय ३४ दशमलव १ मिलिमिटर अर्थात् १७ दशमलव ५३ प्रतिशत पानी परिसकेको कँडेलले बताउनुभयो ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको तीस वर्षको औसत वर्षालाई जनाउँछ ।  सामान्यतया नेपालमा जुन १० देखि मनसुन प्रवेश गर्छ । तर यो वर्ष दुई दिन ढिला अर्थात् जुन १२ देखि मनसुन नेपाल प्रवेश गरेको थियो । गएको वर्ष नेपालमा १० दिन ढिलो अर्थात् जुन २० अर्थात् असार ५ मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो ।  कहिलेकाहीँ मनसुन सक्रिय हुन समय लाग्छ भने कुनै वर्ष छिट्टै सक्रिय हुने गर्छ । सामान्यतया मनसुन नेपाल प्रवेश गरेको ७ दिनभित्र देशभर फैलने गरेको छ । यसैबीच अझै केही दिन देशभरको मौसम सामान्यतया बद्ली भएर पानी पर्ने  सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मनसुन सक्रिय नै भएकाले पानी पर्ने सम्भावना भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले पनि देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । दिउँसो प्रदेश १, २, गण्डकी र प्रदेश ५ मा ठूलो पानी पर्ने सम्भावना छ भने अरु ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । राति भने प्रदेश १,२ र बागमती प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया