'ट्याक्सी चलाउँदा कोरोना फैलिने हो र ?'

 असार २१, २०७७ आइतबार १५:४२:२७ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – ट्याक्सी चलाएर परिवारको गुजारा चलाउँदै आएका रामेछापका भीम बगदास साढे तीन महिनादेखि उदास हुनुहुन्छ । लकडाउनलगत्तै ट्याक्सी ग्यारेजमा थन्किएको छ । ट्याक्सी चलाउन नपाएपछि गुजारा चलाउन पनि मुस्किल हुन थालेको छ । 

ट्याक्सी चलेको बेला दैनिक दुई हजारदेखि २५ सय रुपैयाँसम्म कमाइ हुन्थ्यो । अहिले यो कमाइ ठप्प नै भएको छ । 

दुई वर्षअघि रामेछापबाट काठमाण्डौ आउनुभएका भीमले किस्तामा ट्याक्सी किनेर चलाउन थाल्नुभयो । ट्याक्सीको किस्ता अहिलेसम्म जसोतसो तिर्दै आउनुभएको छ । तर लकडाउनको कारण आम्दानी बन्द भएपछि अब दैनिक छाक टार्न नै समस्या भएको उहाँ बताउनुहुन्छ । ‘महामारीको डर त छँदैछ, त्यसमाथि गरिखाने बाटो बन्द हुँदा झनै समस्या भएको छ’, उहाँ भन्नुहुन्छ, ‘अरु निजी गाडी चलिरहेका छन् । भाडामा यात्रु ओसारिरहेका छन् । हामी चाहिँ ग्यारेजमा गाडी थन्क्याएर बसिरहेका छौँ ।’

ट्याक्सी चलाएर आउने आम्दानी बाहेक परिवार चलाउने अरु विकल्प उहाँसँग छैन । उहाँले जम्मा गर्नुभएको थोरै रकम पनि सकियो । काम नभएपछि अहिले उहाँको समय चिन्तै चिन्तामा बितिरहेको छ । 

भूकम्पको बेलामा पनि यस्तो समस्या नभएको तर अहिले टिक्नै नसक्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । ‘निजी गाडी चलाउँदा कोरोना नफैलिने, ट्याक्सी चलाउँदा मात्रै फैलिने हो र ? हामीले कर तिरेका छैनौँ र सरकार ?’ उहाँ सरकारलाई प्रश्न गर्नुहुन्छ ।   

बागदासको जस्तै पीडा छ, अर्का ट्याक्सी व्यवसायी खेमराज श्रेष्ठको पनि । उहाँको चार जनाको परिवार ललितपुरको ग्वार्कोमा बस्दै आएको छ । श्रेष्ठ पनि ट्याक्सी चलाउन भनेर रामेछापबाट नै काठमाण्डौ आउनुभएको हो । सरकारले यति समय लकडाउन हुन्छ भनेर सङ्केत गरेको भए घरमा गएर रोटी/मकै खाएर नि बाँचिन्थ्यो कि भन्ने अहिले उहाँलाई लाग्छ । अहिले काम छैन । काठमाण्डौमा के खाएर बाँच्ने ? महिनाको ६ हजार रुपैयाँ घर भाडा तिर्नुपर्छ । दुई महिनादेखि भाडा पनि तिर्न नसकेको उहाँको भनाइ छ । 

श्रेष्ठले सामान्य अवस्थामा दैनिक २५ सयदेखि तीन हजार रुपैयाँसम्म कमाइ गर्ने गरे पनि सबै खर्च कटाएर एक हजार रुपैयाँ जति बचत गर्नुहुन्थ्यो । त्यो पैसा पनि छोराछोरीको पढाइ लेखाइमा र ट्याक्सी किन्दा लिएको ऋणको किस्ता तिर्न ठिक्क हुने गरेको थियो । 

अब त  झनै समस्या थपियो । ट्याक्सीको १५ लाख रुपैयाँ तिर्न बाँकी नै छ । उहाँ भन्नुहुन्छ, ‘तत्काल काम गर्ने वातावरण सिर्जना नगरिदिए दुई छाक पेट भर्न र जीवन धान्न नै गाह्रो हुन्छ ।’ 
कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको हो । तर लकडाउन खुकुलो बनाउँदा ट्याक्सी र अरु सार्वजनिक गाडीको बारेमा नसोचिएको भन्दै बागदास र श्रेष्ठ जस्ता यातायात व्यवसायी र मजदुर निराश छन् । सामान्य अवस्थामा काठमाण्डौमा नौ हजारभन्दा धेरै ट्याक्सी चल्छन् ।

रोगले नभइ भोकले मर्नुपर्ने अवस्था

लामो समय ट्याक्सी चलाउन नपाएपछि व्यवसायी र मजदुरले सरकारको ढोका ढकढक्याउन थालेका छन् । लकडाउनको कारण आयआर्जन ठप्प हुँदा गुजारा चलाउन गाह्रो भएको भन्दै उनीहरुले प्रदर्शन पनि गरेका छन् । ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ कि कामको व्यवस्था गरिदेऊ’ भन्ने नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् । कर तिर्दा पनि सरकारले नहेरेको उनीहरुको गुनासो छ । कर मिनाहा र किस्ता तिर्ने अवधि थप गर्नुपर्ने उनीहरुको माग छ । 

सुरक्षाको उपाय अपनाएर निर्बाध काम गर्न दिनुपर्ने भन्दै ट्याक्सी व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

दैनिक दुई सय ट्याक्सी नियन्त्रणमा

सरकारले अनुमति नदिए पनि कतिपय व्यवसायीले भने हातमुख जोर्न नै धौधौ भएको भन्दै लुकीछिपी ट्याक्सी चलाउने गरेका छन् । यसरी चलाइएका ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ । दैनिक दुई सय ट्याक्सी कारबाहीमा पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार लकडाउनको अवज्ञा गरेर चल्ने गाडीलाई दिनभर होल्ड गरेर बेलुका छोड्ने गरिएको छ । 

मापदण्ड बनाएर चल्न दिन माग

ट्याक्सी व्यवसायीहरुले सुरक्षाको उपाय अपनाएर ट्याक्सी चल्न दिनुपर्ने माग गरेका छन् । ट्याक्सीसँगै अरु सार्वजनिक गाडी सञ्चालनबारे पनि सरकारले गृहकार्य गरिरहेको छ तर निर्णय भइसकेको छैन ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले ट्याक्सी व्यवसायी तथा चालकको समस्या समाधानको लागि छलफल भइरहेको बताउनुभयो । ट्याक्सी कसरी चलाउने, कस्ता मापदण्ड बनाउने भन्नेलगायतका विषयमा छिट्टै निर्णय हुन सक्ने उहाँको भनाइ छ ।   

अन्तिम अपडेट: चैत ५, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया