‘सलह फेरि सक्रिय हुन सक्छ, अर्काे झुण्ड आउने खतरा टरेको छैन’

 असार २१, २०७७ आइतबार २०:११:४३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – नेपालमा आएको सलह किराले शनिबार (हिजो) र आइतबार बालीनालीमा क्षति नगरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । अघिल्लो शनिबार नेपाल भित्रिएको सलहले एक हप्तासम्म विभिन्न जिल्लाको तरकारी, मकै, भटमास, फलफुललगायतका बालीनालीमा क्षति गरेकोमा शनिबार र आइतबार क्षतिको विवरण प्राप्त नभएको केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँले बताउनुभयो । 

सलहको क्षति

विभिन्न २७ जिल्लामा समूहमा र ५२ भन्दा बढी जिल्लामा सानो सङ्ख्यामा सलह किरा पुगेको र त्यसले एक हजार एक सय हेक्टरभन्दा बढी जमिनको बालीनालीमा क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको प्रमुख हुमागाईँले बताउनुभयो । पटक/पटक गरेर ८० लाखभन्दा धेरै सलह नेपाल भित्रिएकोमा नेपाल आइसकेपछि झुण्ड छुट्टिएर विभिन्न भागमा बाँडिएकाले अनुमानभन्दा कम क्षति भएको उहाँले बताउनुभयो । 

केन्द्रको विवरण अनुसार दाङमा पाँच सय ८० हेक्टर, मकवानपुरमा एक सय पाँच हेक्टर, प्युठानमा दुई सय ८३ हेक्टर, अर्घाखाँचीमा सय हेक्टर र पाल्पामा ५० हेक्टर क्षेत्रफलको मकै, तरकारी तथा फलफुलमा क्षति पुगेको छ । अरु जिल्लामा सामान्य क्षति भएको र विवरण सङ्कलन भइरहेको केन्द्रले जनाएको छ । सिन्धुली र रोल्पामा पनि मकैमा सामान्य क्षति पुगेको छ । अन्य केही स्थानमा पनि सामान्य क्षति पुगेको छ ।

कता गए सलह ? 

गएको शनिबारपछि ६ पटक सहलको झुण्ड नेपाल प्रवेश गरेको थियो । बारा, पर्सा, रुपन्देहीलगायतका क्षेत्रबाट नेपाल भित्रिएको सहल केही दिनमै नेपालका ५० भन्दा धेरै जिल्लामा पुग्यो । तराईबाट हिमाली जिल्लासम्म पुगेको सलहको चहलपहल पछिल्ला दुई दिनमा निकै कम भएको छ । 

पटक पटक गरी ८० लाखभन्दा बढीको सङ्ख्यामा आएका सहल कहाँ गए त ? भन्ने प्रश्नमा प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँ भन्नुहुन्छ, ‘नेपाल प्रवेश गरेपछि सलहको झुण्ड छिन्न भिन्न भयो, धेरै सलह सानो सङ्ख्यामा विभिन्न जिल्लातर्फ लागे, सानो सङ्ख्या भएकोले ठूलो क्षति भएन, अलिअलि भएको क्षतिको किसानले वास्ता गरेनन् । नेपाल प्रवेश गरेका तराईका जिल्ला हुँदै मकवानपुर, दाङ, प्युठान, अर्घाखाँची, पाल्पातिर गएको झुण्डमा ठूलो सङ्ख्या थियो, त्यसैले त्यता बढी क्षति भयो ।’

ती जिल्लामा केही दिनसम्म क्षति गरेको सलह बाग्लुङको ढोरपाटन क्षेत्र हुँदै अघि बढेको जानकारी पाएको प्रमुख हुमागाईँले बताउनुभयो । तीमध्ये केही सलह रुकुम, रोल्पा, सल्यानतिर पुगेको जानकारी प्राप्त भएको केन्द्रले जनाएको छ । 

सलह निष्क्रिय भइसकेका हुन् ? 

केन्द्रका प्रमुख हुमागाईँ अहिले नै सलह किरा निष्क्रिय भइसकेको भन्न हतार हुने बताउनुहुन्छ । सलह एक महिनासम्म बाँच्न सक्ने र नेपाल पार गरेर अन्यत्र नगएकोले निष्क्रिय भइनसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कतिपय सलह मरेको अवस्थामा भेटिएको भनेर तस्बिरहरु प्राप्त भएका छन्, मौसम अनुकुल नभएकोले मरेको हुन सक्छ तर सबै मरिसके भन्ने अवस्था आएको छैन । पानी परेको बेला सलह सक्रिय नहुने भएकोले अहिले जङ्गल तथा खेतबारीमा बसेको हुन सक्छ र मौसम सफा भएपछि फेरि सक्रिय हुन सक्छन्, त्यसैले अझै केही दिन निगरानी गरेपछि मात्र निष्क्रिय भए/नभएको भन्न सकिन्छ ।’ सानो सङ्ख्यामा रहको एउटा झुण्ड रुकुम पश्चितर्फ देखिएकोले अहिले सलह त्यो क्षेत्रमा पुगेको र केही ढोरपाटन क्षेत्रमा बसेको हुन सक्ने केन्द्रको अनुमान छ । 

अर्को झुण्डको जोखिम टरेको हो ? 

नेपालबाट सबैभन्दा नजिक भारत उत्तर प्रदेशको चौरारामा ७० हेक्टर क्षेत्रफलमा फैलिएको ठूलो झुण्ड रहेको र त्यो भैरहवाबाट पाँच सय ७८ किलोमिटर टाढा रहेको केन्द्रले जनाएको छ । यदि पूर्वतर्फ हावा चलेमा त्यो समूह नेपाल आउन सक्ने खतरा रहेकोले अझै पनि ढुक्क हुने अवस्था नभएको प्रमुख हुमागाईँले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया