चीन अमेरिकाको लागि 'सबैभन्दा ठूलो खतरा' : एफबीआई निर्देशक

 असार २४, २०७७ बुधबार १३:३१:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी गुप्तर (जासुसी) निकाय एफबीआईका निर्देशकले चीन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।  

वाशिङ्टनमा रहेको हड्सन इन्स्टिच्युटमा बोल्दै एफबीआईका निर्देशक क्रिस्टोफर रेले जासुसी र सूचनाको चोरीका कारण चीन सरकार अमेरिकाको भविष्यको लागि ‘अहिलेसम्मकै सबैभन्दा ठूलो दीर्घकालीन खतरा’ भएको बताएका हुन् ।

चीनले कैयौँ प्रकारको अभियान चलाइरहेको, विदेशमा रहेका चिनियाँ नागरिकलाई निसाना बनाउन सुरु गरेको, उनीहरुलाई स्वदेश फर्कन दबाब दिएको र कोरोना भाइरससम्बन्धी अनुसन्धानमा अमेरिकालाई बाधा पुर्‍याउने कोसिस गरेको उनले दाबी गरेका छन् । 

क्रिस्टोफर रेले भने, ‘चीन जसरी पनि विश्वको एक्लो शक्तिशाली राष्ट्र बन्न लागिपरेको छ ।’

चीनको यो खतराको बारेमा आउँदो हप्तामा अमेरिकी अटर्नी जनरल (महान्यायाधिवक्ता) र विदेश मन्त्रीले पनि ध्यान दिने एफबीआई निर्देशकले बताए । 

अमेरिका र चीनबीच कोरोना महामारी र चिनियाँ एप्लिकेसन्सलाई लिएर तनाव उत्कर्षमा पुगेको बेला एफबीआईका निर्देशकको यो भनाइ सार्वजनिक भएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारीलाई लिएर लगातार चीनको आलोचना गर्दै आइरहेका छन् र सोझै महामारी फैलिनुमा चीनको हात रहेको आरोप लगाउँदै आइरहेका छन् । 

यसका साथै पछिल्लो हप्ता अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिका चिनियाँ एप्लिेकसन्स प्रतिबन्ध लगाउनेबारेमा विचार गरिरहेको बताएका थिए ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया