बहस र विवादमा ‘महानायक’ : समाधान के ?

 असार ३०, २०७७ मंगलबार ७:५८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय ‘महानायक’ को भन्ने प्रश्नले नेपाली चलचित्र क्षेत्र तातिएको छ । कलाकार दीपाश्री निरौलाले एक अन्तर्वार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भनेर प्रश्न गरेपछि यसले बहसको रुप लिएको हो । उनले राजेश हमाल चलचित्र उद्योगको खम्बा भए पनि महानायकको उपमा दिन मिल्ने वा नमिल्ने भन्नेमा प्रश्न उठाएकी हुन् । 

अन्तर्वार्ताका क्रममा उनले महानायकले अप्ठ्यारो बेलामा गर्नुपर्ने काम हमालले नगरेको भन्दै असन्तुष्टि जनाएकी थिइन् । कोरोनाको कारण चलचित्र क्षेत्रले सामना गरेको संकटपूर्ण समयमा राजेश हमालले अभिभावकीय भूमिका निर्वाह गर्न चासो नदेखाएको निरौलाको आरोप थियो । 

‘युगदेखि युगसम्म’ चलचित्रबाट सिने नगरीमा प्रवेश गरेका हमाललाई अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्ने र सहयात्रीलाई उनले बिर्सिएको आरोप एक पक्षको छ । वर्षौँदेखि सहयोगी भूमिका खेलेका प्राविधिकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण झेल्नु परेका समस्याप्रति उदासीन भएको भन्दै दीपाश्रीले हमाल कसरी ‘महानायक’ भए भनेर प्रश्न उठाएकी हुन् । 

बलिउडमा महानायकका रुपमा परिचित अमिताभ बच्चनले समाजसेवादेखि कोरोना कहरका कारण समस्यामा परेकालाई सहयोग गरेको उदाहरण दिँदै निरौलाले ‘महानायक’ भइसकेपछि चलचित्र क्षेत्रको पीडा कम गर्न हमालले आवश्यक पहल नै नगरेको आशय जनाएकी थिइन् । निरौलाले हमालमाथि गरेको यो सामान्य टिप्पणीले चलचित्र क्षेत्रमा ठूलै बहस र छलफल चलिरहेको छ । बसहको केन्द्र अहिले सामाजिक सञ्जाल बनेको छ । 

‘महानायक’विरुद्ध अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना खेप्नु परेपछि निरौलाले फेसबुकमा स्टाटस राखेर माफी पनि मागिन् । तर पनि यो विषय अझै सेलाउन सकेको छैन । आफूले बोलेको कुराको गलत अर्थ लागेमा माफी चाहन्छु भनेर निरौलाले गल्ती स्वीकार गर्दासम्म नेपाली चलचित्र बजार भने यो विषयमै अल्झिरहेको छ । यसबाट दीपाश्री स्वयम् समस्यामा पर्न थालेको भन्दै यसको समाधान राजेश हमाल स्वयम्ले खोज्नेपर्ने चलचित्र क्षेत्रका जानकारको भनाइ छ । 

महानायक भन्नका लागि प्रष्ट मापदण्ड, प्रक्रिया नभएकाले नेपाली कला क्षेत्र नै ‘महानायक’ कसलाई मान्ने भन्ने अन्योलमा छ । यस्तो अवस्थामा लोकप्रिय मानिएका पुराना र नयाँ पुस्ताका कलाकार व्यक्तिगत बहसमा उत्रंदा चलचित्र क्षेत्रका लागि कुनै फाइदा  पुग्ने छैन । यो विषयमा हमाल र निरौला बसेर समाधान खोज्नुपर्ने चलचित्र समीक्षकको भनाई छ ।

समाधान के त ?

चलचित्र निर्माता, निर्देशक, लेखक र समीक्षक प्रकाश सायमी कोरोना कहरले भएको लकडाउन लामो समय जाँदा कला क्षेत्रको विवाद बजारमा आएको बताउनुहुन्छ ।

‘लकडाउनका कारण मानिसको फुर्सद भयो अनि पुराना फोटो लगायतका कुरा केलाउँदा नै यो अवस्था आएको हो’, उहाँ भन्नुहुन्छ, ‘अब महानायक राजेश हमालले नै ठूलो मन गरेर दीपाश्री निरौलालाई भेटेर केही भएको छैन भनेर सम्झाउन सक्नुभयो भने उहाँ अझै माथि पुग्नुहुन्छ । साँच्चै महानायक त्यतिबेला बन्नुहुन्छ ।’ 

राजेश हमाल चलचित्र क्षेत्रको अभिभावक भएकाले यस्तो विषयमा बहस गर्नु आवश्यक नभएको उहाँको भनाइ छ । ‘चलचित्र क्षेत्रको अभिभावक नै हो राजेश हमाल । उहाँले नै दीपाश्रीले भनेको कुरालाई असहमति भए पनि, चित्त नबुझे पनि गएर, बाहिर जे भए पनि केही भएको छैन आत्तिनु पर्दैन कहिलेकाहीँ गल्ती हुन्छ भनिदिनुभयो भने त्यो नै उत्तम समाधान हो । किनभने राजेश हमाल त नेपाली सिनेमा उद्योगको अभिभावक नै हो’, सायमी

भन्नुहुन्छ, ‘दीपाश्री पो भर्खरभर्खर स्थापित हुनुभयो । राजेश हमाल त लामो इतिहास बोकेर आउनुभएको छ ।’ 

महानायक भनेको सबैभन्दा ठूलो भएकाले हमालले नै यतिबेला केही बोलिदिँदा समस्या समाधान हुन्छ भने बोल्नुपर्ने सायमीको भनाइ छ । सायमी थप्नुहुन्छ ‘महानायकमा प्रश्न उठाउनु आपत्तिपूर्ण होइन । तर चित्त दुखेको कुरा कहाँनिर होला भनेर खोजी गर्ने भन्दा पनि भनेको कुरामा माफी मागिसकेपछि समाधान हुनुपर्ने हो ।’ उहाँ भन्नुहुन्छ, ‘त्यही भएर पनि महानायक जो सबैभन्दा ठूलो हो ।

उहाँ आफै गएर केही भएको छैन भनेर बोलिदिँदा समस्या समाधान हुन्छ भने लचक बन्नुपर्छ । यसले उहाँको ओज अझै बढ्छ ।’ 

यो विवाद उत्कर्षमा पुगेपछि आफूले व्यक्तिगत रुपमै हमाललाई दीपाश्रीलाई भेटेरै कुरा गर्नु भनेको सायमीले उल्लेख गर्नुभयो । ‘मैले व्यक्तिगत रुपमा पनि त्यही अनुरोध गरेको छु’, सायमीले भन्नुभयो, ‘अर्को हप्ता आफैं कुरा गर्छु भन्नु भएको छ । यो ठूलो विषय होइन । तर, समस्या देखिइसकेकाले यसको समाधान महानायक हमालबाटै हुनुपर्छ ।’ 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया