संखुवासभामा पहिरोबाट विस्थापितलाई बुधबारे बजारमा अस्थायी बसोबासको तयारी (फोटो फिचर)

 साउन १, २०७७ बिहिबार ९:४३:२३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा शनिबार राति अविरल वर्षाका कारण पहिरो जाँदा विस्थापित भएकालाई बुधबारे बजारमा अस्थायी बसोबासको तयारी भएको छ ।

सिलिचोङ गाउँपालिका–२ सिसुवाटारको बुधबारे बजारमा सुरक्षाकर्मीको टोलीले अस्थायी बास निर्माण गरिरहेका छन् ।

मैदान सम्याउने, टेन्ट टाँग्ने, शौचालय र खानेपानी लगायतको व्यवस्थापनमा खटिरहेको सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । बेसिन्दा गाउँका ७३ घरका ३ सय ५० जना भन्दा बढिलाई अस्थायी रुपमा तत्काल चित्रेमा सारिएको थियो ।

चित्रे समुद्री सतहबाट झण्डै दुई हजार ४ मिटरभन्दा माथिको उचाईमा रहेकाले चिसो र सधैंभरी बाक्लो हुस्सु र कुहिरो लागिरहने भएकाले बुढाबुढी र बालबालिकाको स्वास्थ्य अवस्था र शिक्षालाई समेत मध्यनजर गरेर सिसुवाटारको बुधबारे बजारमा सार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कुलुङको भनाइ छ ।

टेन्ट निर्माण गरिएसँगै थप राहत उद्धारका कार्यलाई प्रभावकारी र सहज बनाउन बुधबारेमा ब्यवस्थापन गरिएको हो । पहिरोमा परेर ११ जना हराइरहेका छन् । ४ जनाको उद्धार गरिएको थियो । पहिरोले ९ घर बगाएको थियो ।

पहिरोमा परेर हराइरहेकाहरुको खोजीकार्य भैरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । मंगलबार हेलिकप्टरबाट राहत पुर्‍याएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया