नेकपा विवाद तत्काललाई मत्थर हुने संकेत : मंसिरमा महाधिवेशन गर्न ओली र प्रचण्ड सहमत

 साउन ४, २०७७ आइतबार ७:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि नेकपाभित्र उत्कर्षमा पुगेको विवाद तत्काल समाधान हुने संकेत देखिएको छ ।

हिजोको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव गर्नुभएको र त्यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत समर्थन जनाउनुभएपछि पार्टीभित्र नयाँ मोड आएको हो । तर अहिलेको विवाद महाधिवेशनसम्म लम्ब्याउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने असहमति जनाउनुभएको छ ।

यसअघि चैतमा तय भएको महाधिवेशन मंसिरमा गर्न नभ्याइने उनीहरुको तर्क छ । कोरोना कहर र चाडपर्व पर्ने भएकाले मंसिरमा महाधिवेशन सम्भव नहुने भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले केन्द्रीय कमिटी बैठक बोलाएर थप छलफल गर्न सुझाव दिएका छन् ।

तर सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलले भने महाधिवेशनको प्रस्तावमा समर्थन जनाउनुभएको छ । यस्तै अरु सदस्यहरुले लिखित प्रस्ताव ल्याउन सुझाव दिएका छन् । ओली र प्रचण्ड दुवै नरम शनिबारको बैठकमा अध्यक्षद्व ओली र प्रचण्ड दुवै नरम रुपमा प्रस्तुत हुनुभएको थियो ।

यसअघिका बैठकमा जस्तो प्रचण्डले राजीनामाको माग गर्नुभएन भने ओलीले पनि अडान लिनुभएन । ओलीले आफूले पनि आत्मालोचना गर्ने बताउँदै अरूलाई पनि आ–आफ्ना कमजोरी सच्याउन आग्रह गर्नुभएको थियो ।

सिंगो देश र पार्टी अहिले संकटमा रहेको र अहिलेको महत्वपूर्ण काम भनेको पार्टी एकता नै भएको उहाँको जोड थियो । एकता बचाउन सबैले आ–आफ्ना कमजोरी स्वीकार गर्न तयार हुनुपर्ने भन्दै उहाँले आफ्नो मेरो कमजोरी स्वीकार र आत्मालोचना गर्ने बताउनुभएको थियो ।

त्यसपछि उहाँले चैतको महाधिवेशन सारेर मंसिरमा ल्याउन प्रस्ताव गर्नुभएको थियो । महाधिवेशनबाटै सबै समस्या हल हुने उहाँको भनाइमा प्रचण्डले पनि समर्थन जनाउनुभएको थियो । सचिवालय बैठक सकेर ओली र दाहाल राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको थियो ।

मंसिरमा महाधिवेशन गर्न चुनौती

दुई अध्यक्षबीच मंसिरमा महाधिवेशन गर्ने सहमति भए पनि चुनौती धेरै छ । महाधिवेशनअघि पार्टीभित्र सहमति, एकताका बाँकी काम, सदस्यता नवीकरण, तल्ला कमिटी र जनसंगठनको अधिवेशन, कार्यदिशाको बहस, नेतृत्वको संरचना र आकार लगायतका विषय टुंग्याउन बाँकी छ ।

कोरोना कहर र चाडपर्वका कारण यी काम तोकिएकै समयमा हुनेमा नेताहरुले आशंका व्यक्त गरेका छन् । नेकपाको गएको माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले २०७७ चैत अन्त्यतिर पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठक आज पटकपटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजेको लागि बैठक बोलाइएको छ । गएको असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगन हुँदै आएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया