अब आउने सलहले धेरै नोक्सानी गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञको आग्रह

 साउन ४, २०७७ आइतबार ७:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अब नेपालमा आउने सलहको झुण्डले धेरै नोक्सानी गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् ।

भारतीय सिमावर्ती क्षेत्रमा १५,२० करोडको संख्यामा सलहको झुण्ड रहेको र त्यसमध्ये आधा मात्रै नेपाल आए भने पनि धेरै क्षति गर्न सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । तर त्यसमध्ये कति नेपाल आउँछन् र कत्रो झुण्डमा आउँछन् भन्नेमा भर पर्ने उहाँको भनाई छ ।

भारतको राजस्थानमा रहेको यी सलहको झुण्ड मौसम अनुकूल भएमा भोलितिर नेपाल प्रवेश गर्ने सम्भावना भएको उहाँले बताउनुभयो । भोलिदेखि हावाको दिशा दक्षिणबाट उत्तरतिर बहने र तीब्र बेगमा बहने हुनाले नेपाल आउनसम्भावना भएको उहाँको भनाई छ ।

तर नेपालमा मनसुन थप सक्रिय भैरह्यो भने भोलि नआएर अर्को २, ३ भित्र पनि आउन सक्ने सुवेदी बताउनुहुन्छ । यी झुण्ड नेपाल आउँदा पश्चिम तराईबाट आउने भएकाले पश्चिम तराईका किसानले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

सलहको झुण्ड आउने सम्भावना भदौसम्म नै भएको उहाँको भनाई छ । यस्तै केही दिनअघि नेपालमा आएका सलहका झुण्ड भने सुर्खेतको छिन्चुमा रहेका छन् । सुर्खेतका केही ठाउँमा तरकारी र आँपमा नोक्सानी गरेको पनि उहाँले बताउनुभयो ।

तर नोक्सानी कति भयो भन्ने विवरण भने नआएको उहाँको भनाई छ । छिन्चुमा विज्ञकै सहायतामा विषादी छर्कने लगायतको काम पनि भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया