सङ्खुवासभा पहिरो : हराइरहेका ११ जनाको खोजी गर्न गएको टोली फर्कियो

 साउन ४, २०७७ आइतबार १७:५८:२३ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ काे बेसिन्दा गाउँमा गएको पहिरोमा हराइरहेकाहरुको खोजी गर्न जिल्लाबाट गएको सुरक्षाकर्मीको टोली आइतबार फर्किएको छ ।

गएको असार २८ गते सिलिचोङ गाउँपालिका १ काे बेसिन्दा गाउँमा गएको पहिरोमा परेर ११ जना हराइरहेका छन् । उनीहरुको खोजी गर्न जिल्ला सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको सुरक्षाकर्मीको टोलीले एक हप्तासम्म खोजी गर्दा पनि प्रगति हुन नसकेपछि आइतबार फर्किएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले जिल्लाबाट खोजीका लागि गएको नेपाल प्रहरी १५, सशस्त्र प्रहरी १५ र बराह दल गुल्मका ३० जना गरी कुल ६० जनाको सुरक्षाकर्मीको टोली जिल्ला फर्किएको जानकारी दिनुभयाे ।  

‘पहिरोमा हराइरहेकाहरुको खोजी कार्य पूर्णरुपमा बन्द भएको छैन’, प्रजिअ आचार्यले भन्नुभयो, ‘स्थानीय, ताम्कु र बुधबारे प्रहरी चौकीका गरी १३ जना प्रहरीको टोलीले अहिले पनि खोजी र निगरानी गरिरहेका छन् ।’ पहिरो गएको ठाउँमा केही दिनपछि शव कुहिएर गन्हाउन थाल्ने र चिल, गिद्ध घुमेपछि पत्ता लगाउन सजिलो हुने प्रजिअ आचार्यको भनाइ छ । 

जिल्लाबाट गएको टोली र स्थानीयको ठूलो समूहले पहिरो गएको ठाउँमा व्यापकरुपमा खोजी गरेका थिए । एक सातासम्म खोजी गर्दासमेत केही फेला नपरेपछि बद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनको संयुक्त निर्णयपछि जिल्लाका सुरक्षाकर्मीको टोली फर्काइएको हो । 

गाउँले र प्रहरी टोलीले निगरानी गरिरहने र थप जनशक्तिको आवश्यक पर्नेबित्तिकै जिल्लाबाट पठाउने सङ्खुवासभाको प्रजिअ आचार्यले बताउनुभयो । पहिरो विस्थापितलाई सिलिचोङ गाउँपालिका २ सिसुवाटारको बुधबारे बजारमा ४५ परिवारलाई अस्थायी बास निर्माण गरी राखिएको छ । 

सिलिचोङ गाउँपालिका १ चित्रेमा ५७ परिवारलाई अस्थायी बास निर्माण गरी राखिएको छ । अस्थायी बसोबासमा सम्पूर्ण कुराहरु व्यवस्थापन गरिएको छ भने सुरक्षाकर्मीको टोलीले सुरक्षा दिइरहेका छन् । 

बेसिन्दा गाउँको पहिरोले जमिन चिरा–चिरा भएर फाटेको छ । यो क्षेत्र भौगोलिक रुपमासमेत डरलाग्दो र चिन्ताजनक रुपमा रहेको हुँदा गाउँभरिका एक सय १६ जना परिवारलाई सुरक्षित रुपमा राखिएको छ ।

आइतबार (आज) बिहानबाट फेरि वर्षा सुरु भएकाले यो क्षेत्रका मानिसहरु झन् चिन्तित बनेका छन् । केही दिन अगाडि हेलिकप्टरबाट सरकारले यस क्षेत्रमा विस्थापितलाई राहत पुर्‍याएकाे छ भने निजी क्षेत्रका विभिन्न निकायबाट समेत राहत सङ्कलन गर्ने काम भइरहेको छ । 

पहिरोमा परेर ११ जना हराइरहँदा चार जनाको उद्धार गरिएको थियाे, पहिरोले नाै घर बगाएको थियो । एक दशक अगाडिसमेत सिलिचोङ गाउँपालिकाको सिकदिम भन्ने ठाउँमा पहिरो जाँदा ११ जना बेपत्ता भएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया