केरुङ च्छाे ताल फुट्ने खतरा, कहाँ–कहाँ छ जोखिम ?

 साउन ६, २०७७ मंगलबार १४:३४:५९ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – तिब्बतको खासामा रहेको केरुङ च्छाे ताल फुट्ने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी क्षेत्रको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । 

केरुङ च्छाे ताल फुटे भोटेकोशी नदीमा बाढी आउने सम्भावना बढी छ । नेपालतर्फ सिन्धुपाल्चोकको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरसहित भोटेकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यसअघि नै अनुरोध गरिसकेको छ । साथै प्रशासनले तल्लो तटीय क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकाका नागरिकलाई सुरक्षाका उपाय अपनाउन सचेत गराएको छ ।

चीनले सोमबार खासा क्षेत्रमा रहेको केरुङ च्छाे ताल फुट्ने खतरा बढेको नेपाललाई जानकारी गराएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यही सूचनाका आधारमा भोटेकोशी र सुनकोशी नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

खासा क्षेत्रमा निरन्तर पानी परिरहे जुनसुकै बेला ताल फुट्न सक्ने जोखिम छ । चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ च्छाे ताल खासाबाट केहीमाथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । जोखिम क्षेत्रमा रहेका पालिकाले समेत नदी तटीय क्षेत्रका बासिन्दालाई सम्भावित घटनाका बारेमा सूचना प्रवाह गरिरहेका छन् ।

२०७३ साल असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाएको थियो । साथै तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर, संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड समेत तहसनहस भएको थियो ।

लगातार पानी पर्दा ताल भरिँदै जाने र पानी निकास हुने क्रममा कटान गर्ने भएकाले फुट्ने जोखिम हुने नेपालको हिमतालसम्बन्धी अनुसन्धानकर्ता श्रीकमल द्विवेदीले बताउनुभयो । ‘ताल फुटेर आउने बाढीको बहाव अरु बाढीभन्दा ठूलो हुन्छ’, भूगर्भविद् द्विवेदी भन्नुहुन्छ, ‘यसले कमजोर जमिन काट्ने, ठूला भौतिक संरचनासमेत बगाउने र बग्दै जाने क्षेत्रका बस्तीलाई समेत क्षति गर्छ ।’ 

अनुसन्धानकर्ता द्विवेदी र भूगर्भका विज्ञ लिलानाथ रिमालका अनुसार क्षति पुग्ने क्षेत्रहरु यसप्रकार छन्–

भोटेकोशी नदी तिब्बत हुँदै नेपाल बग्छ । मितेरी साँघुबाट नेपाल–चीन सीमामा रहेको कोदारी आइपुग्छ । नेपालपट्टि सिन्धुपाल्चोकको कोदारीबाट बाह्रबिसे हुँदै काभ्रे र सिन्धुपाल्चोकको सीमा क्षेत्र दोलालघाट आइपुग्छ । बाह्रबिसे नजिकै भोटेकोशीमा सुनकोशी पनि मिसिन्छ ।

दोलालघाट आइपुग्दा इन्द्रावतीसँग मिलेर पूर्व लाग्छ अनि दोलखा, रामेछाप र सिन्धुली हुँदै बग्ने तामाकोशी नदीसमेत मिल्न आउँछ । रामेछाप, ओखलढुङ्गा र सोलुखुम्बुबाट बगेर आएको नदी लिखु र दुधकोशी, धनकुटाबाट बहने तमोर र अरुण मिसिएर सप्तकोशी नदी बन्छ । सुनकोशी, इन्द्रावती, तामाकोशी, लिखु, दुधकोशी, अरुण र तमोर गरी सात वटा सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी भनिन्छ । सप्तकोशी सुनसरीको बराह क्षेत्र त्रिवेणीमा एकत्रित हुन्छ अनि चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्छ । त्यसपछि कोशी बाँध पार गरेर भारत प्रवेश गर्छ ।

सप्तकोशी भारतको विहार राज्यको कर्सेलाघाटमा गङ्गा नदीमा मिल्छ । त्यसैले भोटेकोशीमा बाढी आए नेपालका नदी तटीय क्षेत्रसहित भारतको विहारसम्म क्षति पुग्छ । तर क्षति पुग्ने असर बाढीको बहाव, जमिनको भू–बनोटमा भर पर्छ ।

कसरी सुरक्षित रहन सकिन्छ ? 

ताल फुटे एकैसाथ पानी बग्छ । बगेको पानीले खोला खोल्साका ढुङ्गा, माटोसहित गेग्रान सँगै लिएर बग्छ । यो बाढीले खोला, किनार आसपासमा भएका संरचनासहित बस्तीलाई समेत क्षति गर्छ । बाटो, पुल, जलविद्युत् केन्द्रलगायतका संरचना भत्काउने हुन्छ ।

एक्कासी आउने बाढीले मानवीय क्षतिसमेत हुने भएकाले पूर्वसूचना महत्त्वपूर्ण हुने अनुसन्धानकर्ता द्विवेदी बताउनुहुन्छ । ‘पहिला एकैचोटि बाढी आउँथ्यो’, उहाँले भन्नुभयो, ‘यसपाली तिब्बत क्षेत्रबाट पूर्वसूचना आयो, जुन महत्त्वपूर्ण छ ।’ पूर्वसूचना अनुसार जोखिम क्षेत्र पहिचान गरी सुरक्षित रहने अनि ताल फुट्यो भने पनि थप क्षति हुनबाट जोगिन सूचना प्रवाहको संयन्त्र बनाउनुपर्छ ।

अनुसन्धानकर्ता द्विवेदी भन्नुहुन्छ, ‘ताल फुट्यो भने जमिन थर्कने गर्छ । ठूलो आवाजसहित बाढी आउने भएकाले माथिल्लो र तल्लो भेगबीचमा सूचना आदानप्रदानको संयन्त्र चाहिन्छ ।’ उहाँका अनुसार ताल फुट्दैछ या फुटेलगत्तै पनि निरन्तर सूचना प्रवाह हुन सके सावधानी अपनाउँदै चट्टानी क्षेत्रमा बस्न सके जोगिन सकिन्छ । अहिले जोखिम रहेको भनिएको तालको अवस्था के छ, भनेर प्रशासनले निरन्तर जानकारी लिनु र त्यसैअनुसार सूचना प्रवाह गर्नुपर्नेमा उहाँको जोड छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया