ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

 साउन ७, २०७७ बुधबार १५:३४:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् । 

यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा रुमालले मुख छोप्न आग्रह गरेकाे बीबीसीले जनाएको छ ।

ट्रम्पले भौतिक दुरी कायम राख्न, मास्क लगाउन र मास्क किन्न आग्रह गरेकाे खबरमा उल्लेख छ । झण्डै तीन महिनापछि ह्वाइट हाउसमा भएको प्रेस ब्रिफ्रिङमा ट्रम्पले कोरोना महामारी सुधार हुनुको साटो झन् खराबतर्फ अघि बढिरहेको बताएका छन् । 

ट्रम्पले भने, 'हामी अमेरिकीवासीलाई मास्ककाे प्रयाेग गर्न, सामाजिक रुपमा दुरी र व्यापक स्वच्छता कायम राख्न भनिरहेका छाैँ । उच्च जाेखिम क्षेत्रमा बस्दै आएका मानिसले माैका मिल्नेबित्तिकै हात धुने गराैँ । भिडभाडबाट बचाैँ, सुरक्षित रहाैँ र स्मार्ट बनाैँ ।'  

यसअघि लगातार काेराेना भाइरसलाई 'चिनियाँ भाइरस' बताँदै आएका ट्रम्पले ब्रिफिङ कक्षमा खल्तीबाट मास्क निकालेका थिए तर लगाएका थिएनन् ।

साथै ट्रम्प ब्रिफिङमा विना विशेषज्ञ उपस्थित हुँदै सम्बाेधन गर्ने गर्थे । उनले आफ्नाे टिप्पणी संक्षिप्त र सटिक रुपमा राख्ने गरेका थिए, कुनै पत्रकारले केही प्रश्न राख्दा उनी आफ्नाे ढङ्गले उत्तर दिँदै आएका थिए । 

अमेरिकामा ४० लाख २८ हजार ७ सय भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने १ लाख ४४ हजार ९ सय ५८ जनाको ज्यान गएको छ । यस्तै, १८ लाख ८६ हजार भन्दा धेरै भने निको भएका छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया