एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

 साउन ११, २०७७ आइतबार १७:१६:० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्ष २०७६/०७७ मा विदेशबाट आउने वस्तुको आयात १५ प्रतिशतभन्दा धेरैले घटेको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा वस्तुको आयात १५ दशमलव १५ दशमलव ६३ अङ्कले घटेको छ ।

आयात घटे पनि निर्यात भने बढ्न सकेन । लकडाउनको अवधिसम्म निर्यात बढेकोमा त्यसपछि भने निर्यात ओरालो लागेर वर्षको अन्तिममा शून्य दशमलव ९८ प्रतिशतमै सीमित भएको छ । 

गएकाे वर्ष ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँको वस्तु आयात भएकोमा ९६ अर्ब १५ करोड रुपैयाँको वस्तु मात्रै निर्यात भएको छ । गएको वर्ष समग्र वैदेशिक व्यापार नै १४ दशमलव ६९ अङ्कले घटेर १२ खर्ब ९२ अर्ब ९५ करोड रुपैयाँमै सीमित भएको छ । २०७५/०७६ मा १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । 

चामल आयात मात्रै साढे ३३ अर्बको, १३ अर्ब रुपैयाँको मकै आयात !

नेपाललाई कृषिप्रधान देश भनिए पनि गएको आर्थिक वर्षमा झण्डै ५७ अर्ब रुपैयाँको खाद्यान्न मात्रै भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५६ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको खाद्यान्न भित्रिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा भन्दा गएको आर्थिक  वर्षमा धान, चामल, मकै, कोदो,जौ गहुँलगायतका खाद्यान्न आयातमा पाँच अर्ब रुपैयाँ धेरै रकम बाहिरिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ५१ अर्ब ८० करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । 

गएको आर्थिक वर्षमा धान/चामल मात्रै साढे ३३ अर्ब रुपैयाँको आयात भएको छ । धानको बिउ, धान, चामल, कनिकालगायतका वस्तुको आयातमा ३३ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क रहेको छ । यसमध्ये झण्डै २२ अर्ब रुपैयाँको धान/चामल भारतबाट आयात भएको छ । गएको वर्ष ९३ करोड ५९ लाख रुपैयाँको त कनिका मात्रै आएको छ । 

यस्तै सात अर्ब ९० करोड रुपैयाँको गहुँ आयात भएको छ । यस्तै १२ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ बराबरको मकै आयात भएको भन्सार विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया