बर्दियामा अविरल वर्षा : केही गाउँ जलमग्न, कर्णाली नदी किनारका स्थानीयलाई सतर्क रहन आग्रह

 साउन १४, २०७७ बुधबार १८:२९:३८ | भावुक योगी
unn.prixa.net

बर्दिया – अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा बाढी आउँदा थुप्रै घर डुबानमा परेका छन् ।

बर्दियाको कर्णाली नदी, बबई नदी, मान खोला, ओराही खोलालगायतका स्थानीय खोलामा आएको बाढीका कारण एक सय घर डुबानमा परेका हुन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार ठाकुरबाबा नगरपालिकाका केही गाउँ जलमग्न भएका छन् । बर्दिया निकुञ्जभित्रको जङ्गलबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर ६, ७ र  ८ का केही गाउँ डुबानमा परेका छन् ।

मधुवन नगरपालिका वडा नम्बर १ को एउटा सामुदायिक विद्यालयमा पनि बाढी पसेको छ । बाढी प्रभावित घरपरिवारलाई सुरक्षित ठाँउमा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

यसैबीच कर्णाली नदीमा पानीको सतह बढेपछि कर्णाली नदी किनारमा रहेका बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका बस्तीमा बाढीको खतरा बढेको छ ।

कर्णाली नदीमा बुधबार बिहान पानीको सतह खतराको सङ्केतसम्म पुगेको भए पनि अहिले भने नदीमा पानीको सतह घट्दो क्रममा रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।  बाढी पस्न सक्ने भन्दै कर्णाली नदी किनारका बासिन्दालाई सतर्क भइ नआत्तिकन सुरक्षित ठाँउमा जानका लागि तयारी अवस्थामा रहन प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले आग्रह गर्नुभएको छ । उहाँँले उद्धारका लागि सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ ।

 

अन्तिम अपडेट: चैत ८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया