'तपाईँको मास्क खै ?'

 साउन १४, २०७७ बुधबार १९:६:५० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – लकडाउन खुकुलो भए पनि कोरोना सङ्क्रमणकाे जोखिम कायम रहेकाे भन्दै भोजपुरमा प्रहरीले मास्क अभियान थालेको छ ।

मास्क नलगाइ यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा ‘तपाईँको मास्क खै’ अभियान सुरु भएकाे हो ।

प्रहरीले सदरमुकाम र आसपासका मुख्य बजार क्षेत्रमा सर्वसाधारण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाएको हाे । मास्क प्रयोग नगरि हिँड्ने सर्वसाधारणलाई मास्क अनिवार्य गर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप लामाले बताउनुभयाे ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाइ सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाहीसमेत गर्ने बताएको छ । सदरमुकामलगायत मुख्य सडकखण्ड र बजार क्षेत्रमा सर्वसाधारणको भिड बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी र स्थानीय सरोकारवालाको सहकार्यमा प्रहरीले अभियान थालेकाे हो । 

यसअघि भोजपुरमा गएकाे वैशाख ११ गते हतुवागढी गाउँपालिकाका एक र गएकाे जेठ २२ गते षडानन्द नगरपालिकाका पाँच जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । अहिले भोजपुर कोरोनामुक्ता जिल्ला भएको छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया