पाँच वर्षमा मुख्य पाँच उपलब्धि : खुसी हुने नेपाली धेरै

 साउन १८, २०७७ आइतबार १०:२२:४२ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - पाँच वर्षमा नेपालले सामाजिक विकासका क्षेत्रमा उल्लेख प्रगति गरेको देखिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले हालै प्रकाशित गरेको नेपाल बहु-सूचक सर्वेक्षणले बाल तथा नवजात शिशु मृत्युदर, प्रजनन तथा मातृत्व स्वास्थ्य, बाल स्वास्थ्य, पोषण तथा विकास, शिक्षा, सरसफाई र खानेपानी, बीमा, विद्युत्, सञ्चार पहुँच जस्ता सूचकमा प्रगति गरेको देखाएको हो । नेपालको यस किसिमको तेस्रो सर्वेक्षण हो । 

सर्वेक्षणको लागि देशभर ५१२ क्लस्टर अर्थात् गणना क्षेत्रहरुमध्ये शहरी क्षेत्रबाट २९० क्लस्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लस्टर छनौट गरी गणनाका लागि २५ वटा परिवार छानिएका थिए । 

गणनाका लागि १२ हजार ८ सय परिवारको पारिवारिक विवरण सङ्कलन गरिएको थियो । त्यसमा १५ देखि ४९ वर्ष उमेर समूहका महिला, पुरुष, ५ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाको विवरण पनि सङ्कलन गरिएको थियो । बाल पोषणको अवस्था बुझ्न तौल तथा उचाई पनि मापन गरिएको थियो । 

शिक्षा, पारिवारिक विशेषता, विवाह, सामाजिक सुरक्षा कार्यक्रम, खानेपानी र सरसफाई, हात धुने व्यवस्था, मातृ तथा नवजात शिशु स्वास्थ्य, खोप, सञ्चार प्रविधिको उपयोग, हिंसा, जीवन सन्तुष्टिलगायतका विवरण समेटिएको छ । 

पाँच वर्षमा नेपालका मुख्य ५ उपलब्धि :

१. घट्यो बाल मृत्यु र नवजात शिशु मृत्युदर

विवरणबाट प्राप्त मुख्य नतिजाअनुसार ५ वर्षमा बाल मृत्यु र नवजात शिशु मृत्युदर घटेको छ । २०७१ सालमा प्रति हजार जीवित जन्मेका शिशुमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जनाको ज्यान जाने गरेको थियो । तर पछिल्लो सर्वेक्षणअनुसार घटेर २५ जनामा झरेको छ । ५ वर्षमुनिका बालबालिकाको मृत्युदर पनि प्रति हजारमा ३८ बाट घटेर २८ मा झरेको छ ।

त्यस्तै नवजात शिशुमध्ये प्रति हजारमा १ महिना नपुग्दै २३ जनाको ज्यान जाने गरेकोमा घटेर १६ भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशअनुसार सबैभन्दा धेरै नवजात शिशु मृत्युदर प्रतिहजार जन्ममा सुदूरपश्चिममा २५ छ । सबैभन्दा कम वाग्मतीमा ९ छ । सबैभन्दा बढी शिशु मृत्युदर ३५ जना प्रदेश ५ मा रहेको छ भने कम प्रदेश २ मा १५ जना रहेको छ ।

त्यस्तै सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिका मृत्युदर पनि प्रदेश ५ मा रहेको छ । प्रदेश ५ मा प्रतिहजारमा ५ वर्षमुनिका ४० बालबालिकाको ज्यान जाने गरेको छ । 

सबैभन्दा कम प्रदेश २ र वाग्मतीमा १९ जना रहेको छ । यो दर सुदूरपश्चिममा ३९, कर्णाली र गण्डकीमा ३०/३० प्रतिशत, प्रदेश १ मा ३२ प्रतिशत रहेको छ ।

२. बाल स्वास्थ्य, पोषणमा सुधार

सर्वेक्षणले पाँच वर्षको अवधिमा ५ वर्षमुनिका बालबालिकाको पोषण स्थितिमा पनि सुधार गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरु लिखुरे र पुड्केमा क्रमशः २४ दशमलव ३ र ३१ दशमलव ५ प्रतिशतमा झरेको छ । 

२०७१ सालमा लिखुरे ३० दशमलव १ र पुड्को ३७ दशमलव ५ रहेको थियो । तर ख्याउटेमा भने खास भिन्नता नपाएको प्रतिवेदनमा उल्लेख छ । उमेर अनुसारको तौल कम भएका लिखुरे बालबालिका सबैभन्दा बढी ३७ दशमलव ४ प्रतिशत कर्णालीमा र सबैभन्दा कम ११ दशमलव १ प्रतिशत वाग्मतीमा रहेका छन् ।

त्यस्तै सुदूरपश्चिममा ३३ दशमलव ३, प्रदेश ५ मा ३० दशमलव ७, गण्डकीमा १४ दशमलव ८, प्रदेश २ मा २८ दशमलव २ र प्रदेश १ मा १९ दशमलव ८ लिखुरे बालबालिका रहेका छन् । नेपालमा ५ जना आमाहरुमध्ये तीन जनाले मात्रै आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूध मात्र खुवाउने गरेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको नेपाल बहुसूचक सर्वेक्षणका अनुसार पाँचजना आमामध्ये तीनजना अर्थात् ६२ दशमलव १ प्रतिशतले आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूध मात्र खुवाउने गरेको पाइएको हो । 

प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी ६ महिनासम्म बच्चालाई दूध मात्रै खुवाउनेमा प्रदेश २ अगाडि छ । प्रदेश २ मा ६९ दशमलव ९ प्रतिशत, कर्णाली प्रदेशमा ६८ दशमलव ३ प्रतिशत र प्रदेश ५ मा ६३ दशमलव २ प्रतिशतले ६ महिनासम्म आफ्नो दुध खुवाउने गरेका छन् । 

सबैभन्दा कम वाग्मती प्रदेशमा ५१ दशमलव १ प्रतिशतले मात्रै ६ महिनासम्म आफ्नो दुध खुवाउने गरेको पाइएको छ ।

३. स्वास्थ्य बीमा

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा २०७२ सालमा सुरु भएको हो । सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ५ दशमलव ८ प्रतिशत महिला तथा ५ दशमलव २ प्रतिशत पुरुषले स्वास्थ्य बीमा गरेको पाइएको छ । 

दुवै उमेर समूहको स्वास्थ्य बीमा गर्ने कुल औसत दर भने ५ दशमलव २ प्रतिशत छ । त्यस्तै पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिका ४ दशमलव ४ प्रतिशत तथा ५ वर्षमुनिका बालबालिका ३ दशमलव ७ प्रतिशतले स्वास्थ्य बीमा गरेको सर्वेक्षणले देखाएको छ ।

४. विद्यालय भर्ना दर बढ्यो

पछिल्लो पाँच वर्षमा विद्यालयमा भर्ना हुने क्रम बढेको छ । देशभर प्राथमिक विद्यालय (१ देखि ५ कक्षा) मा ५ दशमलव ६ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६ देखि ८ कक्षा) मा ४ दशमलव ३ प्रतिशत र माध्यमिक विद्यालय (९ देखि १२) मा १५ दशमलव १ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क छ ।

पाँच वर्षअघि प्राथमिक विद्यालयमा २३ प्रतिशत, निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा ११ प्रतिशत विद्यार्थी विद्यालय बाहिर थिए । प्राथमिक तह ८१ दशमलव ८, निम्न माध्यमिक तह ७३ दशमलव १ र माध्यमिक विद्यालय तहमा २७ दशमलव २ प्रतिशत बालबालिकाले पूरा कक्षा उत्तीर्ण गरेको पाइएको छ ।

५. विद्युत् तथा टेलिफोन र सञ्चार प्रविधिमा पहुँच

पाँच वर्षमा विद्युत्, टेलिफोन र सञ्चारमा पहुँच बढेको छ । विद्युतमा र टेलिफोनमा पाँच वर्षमा झण्डै पाँच/पाँच प्रतिशत नै वृद्धि भएको हो । देशभर ८९ दशमलव ९ प्रतिशत घर परिवारमा विद्युत् सेवा पुगेको छ ।

अझै १० दशमलव १ प्रतिशत घरपरिवार विद्युत्को पहुँच बाहिर छन् । पाँच वर्षअघि यो दर ८५ प्रतिशत थियो । प्रदेशगत आधारमा भने सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९८ दशमलव ९ प्रतिशत विद्युत् पहुँच पुगेको छ । सबैभन्दा कम कर्णालीमा ४४ दशमलव ६ प्रतिशत घरपरिवारमा विद्युत् पुगेको छ । 

त्यस्तै नेपालका ९६ दशमलव दुई प्रतिशत नागरिकमा टेलिफोन वा मोबाइलको पहुँच पुगेको छ । पाँच वर्षअघि ९१ प्रतिशतमा टेलिफोन सुविधा थियो । प्रदेश अन्तर्गत भने सबैभन्दा धेरै वाग्मती प्रदेशमा ९८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ९३ दशमलव ६ प्रतिशत घरपरिवारमा टेलिफोन पहुँच छ ।

१५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९ दशमलव ३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ । त्यस्तै ९१ दशमलव ४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल रहेको छ । कुनै न कुनै उपकरणको माध्यमद्वारा हरेक दुई जनामध्ये एक जना इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ ।   

नेपाली खुसी

पछिल्लो सर्वेक्षणले ६३ प्रतिशत नेपाली खुसी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । १५ देखि ४९ वर्ष उमेर समूहका महिला र पुरुषमा ज्यादै खुसी वा केही हदसम्म खुसी हुनेको औसतदर ६३ दशमलव ४ प्रतिशत रहेको छ ।

यो उमेर समूहका महिलामध्ये ६२ दशमलव ४ प्रतिशत र पुरुषमध्ये ६४ दशमलव ७ प्रतिशतले आफू ज्यादै खुसी वा केही हदसम्म खुसी रहेको धारणा राखेका छन् । त्यसैगरी १५ देखि २४ वर्ष उमेर समूहका ६८ प्रतिशत युवतीहरु तथा सोही उमेर समूहका ६९ दशमलव ६ प्रतिशत युवाहरु ज्यादै खुसी वा केही हदसम्म खुसी रहेको पाइएको छ ।

महिला तथा पुरुष समग्रमा ४८ प्रतिशतले अबका दिनमा जीवनस्तर सुधारको अपेक्षा गरेका छन् । महिलाको तुलनामा पुरुषहरु आउँदाे दिनमा जीवनस्तर सुधार हुनेमा बढी आशावादी देखिएका छन् । १४-४९ उमेर समूहका पुरुषमध्ये ५२ दशमलव ५ प्रतिशतले विगत वर्षमा भन्दा आउँदाे वर्षमा अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरेका हुन् । 

त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहका ५० दशमलव १ प्रतिशत युवतीहरु र ५६ दशमलव ४ प्रतिशत युवाले आउँदाे वर्षमा अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्ति गरेका केन्द्रीय तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया