‘एक घण्टाको बाटाे अब १० मिनेटमा’

 साउन १८, २०७७ आइतबार १३:४८:२७ | रासस
unn.prixa.net

बाग्लुङ – बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गएकाे शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् ।  

गएकाे चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गएकाे वैशाखमै सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सर्वसाधारणलाई खुला गरिएको थिएन । पुल खुला भएसँगै पर्वत जिल्लाको कुश्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजारको यात्रा छोटिएको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल बनेपछि बागलुङ जिल्ला सदरमुकामबाट पाङ अदुवाबारी पुग्न एक घण्टा बढी पैदलयात्रा गर्नुपर्नेमा पुलबाट १० मिनेटमै पुग्न सकिने पाङ सुवेदीथर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक सुवेदीले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका १ रामरेखाबाट कुश्मा नगरपालिका १ अदुवाबारी जोड्ने झोलुङ्गे पुल गएकाे वैशाखको सुरुमै निर्माण सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनमा आएको थिएन । लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न थालेको छ । पुल हस्तान्तरण प्रक्रिया सुरु भएको जनाउँदै सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले शुक्रबारदेखि पुल खुला गर्न अनुमति दिएको हो । पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई समेत यस पुलले आकर्षित गर्नेछ ।

पुल खुला गरेपछि शुक्रबारदेखि पुल अवलोकन गर्नेको भिड नै लागेको छ । शुक्रबारदेखि खोल्नका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट जानकारी आएका कारण पुल सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्‍डाैका सिनियर डिभिजन इन्जिनियर हुमाकान्त मिश्रले पुल निर्माण सम्पन्न भएपपछि प्राविधिक रूपमा अध्ययन र परीक्षण गरिएकाले अब हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेको जनाउँदै पुल सञ्चालन गर्न भनिएको बताउनुभयो । 'पुलको प्राविधिक परीक्षण गर्‍याैँ, अब अफिसियल रूपमा हस्तान्तरणको काम गर्दा एक हप्ता लाग्छ होला, पुल सञ्चालन तथा संरक्षणको जिम्मा पालिकाले समन्वयका आधारमा गर्नेछ', उहाँले भन्नुभयो ।

ठेक्का सम्झौताभन्दा तीन महिनाअघि नै पुल निर्माण सकिएको थियो । पुल हस्तान्तरण नहुँदा तीन महिनादेखि पुलको रेखदेख मात्रै गरेर राखेको पुल निर्माणको जिम्मा पाएको थानी/बीएलटी/हिमशिखर कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो । 

'हामीले लकडाउनमा समेत पुल निर्माण रोकेनौँ', उहाँले भन्नुभयो, 'वैशाखको सुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा थियौँ, लकडाउनले समस्या ल्यायो, अब पुल हस्तान्तरण गर्न थालेका छौँ तर कार्यालयले शुक्रबारदेखि पुल खोल्न भनेको छ ।' उहाँका अनुसार झोलुङ्गे खुला प्रकृतिमा पाँच सय ७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ ।

विसं २०७५ चैतदेखि सुरु भएको पुल निर्माण कार्य आउँदाे २०७७ असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअघि नै पुल निर्माण सम्पन्न भएको थियो । पहिलो पटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चुनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काको भनाइ छ । पुलको एकसाथ ६ सय १२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता रहेको छ । 

विसं २०५९ देखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लठ्ठा तान्न नसक्ने जनाउँदै काम सुरु हुन सकेको थिएन । ४० लाख रुपैयाँमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएपछि पुल निर्माण थालिएको थियो । अहिलेसम्म नेपालमा सात हजार पाँच सय बढी झोलुङ्गे पुल छन् । सुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने औजार मन्त्रालयले उपलब्ध गराउने भएपछि ६ करोड ९१ लाख रुपैयाँमा सम्झौता भएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया