सन्दीप लामिछाने १४ दिन क्वरेण्टीनमा

 साउन १९, २०७७ सोमबार १७:१५:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिने क्वरेण्टीनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वरेण्टीनमा राखिएको हो । 

सीपीएल आउँदाे भदौ २ गतेदेखि सुरु हुँदैछ । 'प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वरेण्टीन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वरेण्टीनमा बस्नु परेको हो', सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले भने । यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने शिवाकाेटीले बताए । 'पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ', उनले भने ।  
 
सन्दीप कोरियन एअरको चार्टर्ड जहाजमार्फत गएकाे बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो गएका हुन् । सरकार र अन्य विभिन्न निकायको सहयोगमा उनी टोबागो जान सफल भएका हुन् । टोबागो उड्नुअघि सन्दीपले गएकाे मङ्गलबार पीसीआर परीक्षण गराएका थिए । उनकाे सानेपामा रहेकाे स्टार हस्पिटलमा स्वाब परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएपछि मात्र टोबागो उड्न सहज भएको व्यवस्थापक शिवाकोटीले बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आउँदाे भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेका कारण केही समय सन्दीपले सीपीएल खेल्नेबारे अन्योल भएको थियो ।
 
सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका हुन् । उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो । उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सबाट सीपीएल खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । त्याे प्रतियोगितामा सन्दीपले पाँच खेलमा सात विकेट लिएका थिए ।  

यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए । उनले गएकाे वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए । सन्दीले त्याे प्रतियोगितामा ६ खेलमा आठ विकेट लिएका थिए । यस पटक सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् । उनी आबद्ध जमैका तलावाजले आउँदाे भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ । 

सीपीएलका लागि विश्वका २३ देशका पाँच सय ३७ खेलाडीले नाम दर्ता गराएका थिए । सीपीएलमा जमैकासँगै बार्बाडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सीपीएलमा कुल ३३ खेल हुने छन् भने कारोना भाइरसका कारण ती सबै खेल विना दर्शक खेलाइने आयोजकले जनाएको छ । सीपीएल आउँदाे भदौ २५ गतेसम्म चल्ने छ । 

सन्दीप टोबागोबाट सोझै इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न असोज दोस्रो साता युनाइटेड अरब इमिरेटस् जाने छन् । यस पटक १३ औँ संस्करणको आईपीएल आउँदाे सेप्टेम्बरदेखि यूएईमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण यस पटक आईपीएल भारतमा आयोजना गर्न नसकिएको हो । 

आईपीएल युएईमा आयोजना गर्न भारत सरकारले आयोजकलाई आइतबार अनुमति दिएपछि याे प्रतियोगिता हुने पक्का भएको हो । सन्दीपले आईपीएल दिल्ली क्यापिटल्सबाट खेल्नुे छन् । उनले आईपीएल खेल्न लागेको याे तेस्रो पटक हो । यसअघिका दुई संस्करण पनि उनले दिल्ली टोलीबाटै खेलेका थिए ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया