आज निवेदन दिनुस्, पास लिन भाेलि जानुस्

 साउन २२, २०७७ बिहिबार १९:४:४६ | रासस
unn.prixa.net

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले  सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ ।

कार्यालय परिसरमा मानिसको अत्यधिक भिड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भिडभाड रोक्न र सामाजिक दुरी कायम गर्न नयाँ व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

बिहीबार मात्रै देशैभर तीन सय ६० जनामा कोरोना देखिएकोमा उपत्यकाका मात्रै ८७ जना छन् । अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाण्डाै प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ । निवेदन दिएर त्यही दिन पास लिन कुर्दा मानिसको भिडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेदेखि पास वितरण गरिने छ । त्यसका लागि गेटमै निवेदन दिने र त्यही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाण्डाैमा पछिल्लो समयमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले आवागमनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ । मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया