बर्दियामा निषेधाज्ञा अवज्ञा गरेर मोटरसाइकल चलाउने कारबाहीमा

 साउन २७, २०७७ मंगलबार १९:२५:१६ | भावुक योगी
unn.prixa.net

बर्दिया – निषेधाज्ञाका बेला अटेर गरेर राजमार्गमा मोटरसाइकल चलाउनेलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ । 

राजमार्ग तथा बजार क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गरी मोटरसाइकल चलाउनेलाई इलाका प्रहरी कार्यालय भुरीगाउँले मङ्गलबारदेखि कारबाही सुरु गरेको हो । 

मङ्गलबार बिहान भुरीगाउँ बजारको पूर्व–पश्चिम राजमार्गमा गरिएको जाँचमा निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका ४० वटा मोटरसाइकलका चालक कारबाहीमा परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी सहायक निरीक्षक कृष्ण केसीले जानकारी दिनुभयो ।

निषेधाज्ञा पालना नगर्ने, अटेर गरी मोटरसाइकल चलाउने चालक र मास्कको प्रयोग नगरि बजारमा हिँड्नेलाई दुई घण्टा सडकमा रोकेर अबदेखि निषेधाज्ञा पालना गर्ने शर्तमा छाडिएको प्रहरी सहायक निरीक्षक केसीले बताउनुभयो । निषेधाज्ञा जारी भएको अवस्थामा पनि अटेर गरेर विना काम घरबाहिर निस्कने, मोटरसाइकल चलाउने, मास्क नलगाउने, निषेधाज्ञा पालना नगर्ने परिपाटी बढ्न थालेपछि बाध्य भएर कारबाही गर्नु परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो । 

कारबाहीमा परेकालाई कोरोना सङ्क्रमणको जोखिम, आम नागरिकले निर्वाह गर्नुपर्ने भूमिका र निषेधाज्ञा पालनाका सम्बन्धका बारेमा शिक्षा दिएर नियन्त्रणमा लिएको केही समयपछि छाडिएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

समुदायस्तरमा कोरोना फैलिएको हुँदा यसको जोखिम नियन्त्रणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा पालना गर्दै घरमै सुरक्षित बस्न प्रहरीले आग्रह गरेको छ । बर्दियामा साउन २५ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको  छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया