सांसद नै भन्छन् : सिन्डिकेट त हट्यो तर कागजमा मात्रै !

 साउन २१, २०७५ सोमबार १९:१:४३ | रासस
unn.prixa.net

काठमाडाैं - राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसदको विकास तथा प्रविधि समितिको आजको पहिलो बैठकमा उपस्थित केही सांसदले यस्तो गुनासा गरे। 

यस्तो समस्या व्यवस्थापिका–संसद्को विकास समितिमा पनि सांसदहरुले राख्ने गरेका थिए । 

सांसद दुर्गा पौडेलले राजधानीकै सडक हुन् कि धान रोप्ने खेतका गह्रा छुट्याउन अप्ठ्यारो पर्ने गरेको बताउनुभयो । जिल्ला जिल्लामा बिना योजना सडक निर्माण गर्दा वर्षामा पहिरो गएर गाउँ नै बगाइरहेकाले विकासका काम गर्दा ध्यान दिन सरोकार भएका निकायलाई सचेत गराउन उहाँले माग गर्नुभयो । “यातायात एकाधिकार कागजमा मात्र तोडिएको छ, व्यवहारमा केही परिवर्तन भएको छैन, यसले यात्रुलाई समस्या भइरहेको छ, यो समस्या समाधानमा समितिले प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो । 

खानेपानी आयोजना सञ्चालनका लागि १० हजार जनसंख्या चाहिने व्यवस्थालाई संशोधन गर्न पनि सांसद पौडेलले अनुरोध गर्नुभयो । जिल्लाका गाउँपालिकामा पाँच हजार मात्र जनसंख्या हुने भएकाले १० हजार जनसंख्याको व्यवस्था उपयुक्त नभएको उहाँको भनाइ थियो । 

सांसद लीलानाथ श्रेष्ठले विकास र समृद्धिका लागि सरकारले जलमार्ग एवम् रेलमार्गको सोच अघि सार्नु सकारात्मक भए पनि राजधानीकै सडकका खाल्डाखुल्डी नपुरिँदा बोलाइ तथा गराइमा एकरुपता नदेखिएको बताउनुभयो । 

अघिल्लो वर्षको जेठमै बजेट आउने गरे पनि कार्यान्वयनमा जाँदा अर्को वर्षको असार पुग्ने प्रवृत्ति रोक्न समितिले अनुगमनलगायत नीति निर्देशन दिनुपर्ने उहाँको भनाइ थियो । 

सांसद टेकबहादुर बस्नेतले प्रदेश सरकार र स्थानीय तहले गर्ने विकासनिर्माणका कामको अनुगमनलगायत कार्यक्षेत्र समितिको पर्ने वा नपर्ने के हो भन्ने स्पष्ट पार्न ध्यानाकर्षण गराउनुभयो । समितिको क्षेत्राधिकार परम्परागत मात्र हुन नहुने उहाँको विचार थियो । 

सांसद यज्ञराज सुनुवारले संघीय संसद् शुरु भएको पाँच महिनापछि समितिको बैठक हुँदा पनि मेच, टेबुललगायत पूर्वाधारको व्यवस्थासमेत हुन नसकेकाले सांसद, आमन्त्रित, कर्मचारी र सञ्चारकर्मी अटाउने बैठक हललगायत व्यवस्था गर्न सुझाव दिनुभयो । 

सांसद टोपबहादुर रायमाझीले विकास निर्माणको काम गर्नुअघि भूउपयोग नीति ल्याइनुपर्नेमा जोड दिनुभयो । विकास र समृद्धिका लागि कुन ठाउँमा कस्ता संरचना रहने, कहाँ खेतीपाती गर्ने भन्ने नीति आवश्यक रहेको उहाँको भनाइ थियो । 

“साना सवारी पनि नछिर्ने कंक्रिटको पहाड बनाएर व्यवस्थित शहर निर्माण हुन सक्दैन, टोलटोलमा खुला मैदान सहितको शहरी गुरुयोजना बनाएर मात्र विकास निर्माण अघि बढाइनुपर्छ”, सांसद रायमाझीले भन्नुभयो । 

सांसद कल्याणी खड्काले पुनःनिर्माण अधुरो रहँदा भूकम्प र बाढीपहिरो पीडित जोखिममा बस्न बाध्य भएकाले समस्या छिटो समाधान गर्न समितिको भूमिका महत्वपूर्ण हुने विचार राख्नुभयो । 

सांसद प्रभु साहले समितिको पहिलो बैठककै विद्युतीय अभिलेख नगरिनु दुःखद भएको बताउनुभयो । समिति कार्यकक्ष फराकिलो हुनुपर्नेमा पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । 

सांसद गणेशकुमार पहाडीले कार्यपालिकाले विकास निर्माणका सन्दर्भमा गरेका कामको अनुगमन एवम् मूल्यांकन चुनौतीपूर्ण भए पनि समितिले सहज रुपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । 

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य जीपछिरिङ लामाले विकासनिर्माणमा राजनीतिकरण हुन नहुने बताउँदै समितिले दिगो विकासका लागि सरकारलाई मार्ग निर्देश दिन एकजुट भएर लाग्नुपर्ने विचार राख्नुभयो । 

बैठकमा सांसद महेन्द्र यादव, अनिलकुमार झा, हरिनारायण रौनियार, आशाकुमारी विकलगायतले समितिको कार्यक्षेत्रअन्तर्गतका मन्त्रालय र राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कामको अनुगमन एवम् मूल्यांकन गरेर कमजोरी सुधारका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । समिति सचिव वंशीराज पौडेलले समितिको काम, कर्तव्य र अधिकारका बारेमा सांसदलाई जानकारी दिनुभयो । 

समितिको कार्यक्षेत्रमा सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालय एवम् राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पर्छन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया