उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – यो धातुको खट ललितपुरको मंगलबजारमा रहेको भीमसेन जात्राका लागि प्रयोग गरिने खट हो । अरु देवताको जात्रामा प्रयोग गरिने खट भन्दा यसको आकार प्रकार बोक्ने शैली अलि भिन्दै हुन्छ । विशेषतः हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भीमसेनजात्रा हुने गर्दछ र यहि खटलाई विशेष सरसफाइ गरेर मूर्तिलाई राखेर जात्रा गरिन्छ। भीमसेनलाई नेपालभाषामा भिन्द्यः भनिन्छ।
मंगलबजारस्थित मन्दिरको दोश्रो तलामा रहेको भीमसेनको मूर्तिलाई जात्रा गरिन्छ । जात्रा गर्ने भीमसेन र मन्दिरमा पूजा गर्ने भीमसेन फरक हुन्छ । पूजा गर्नको लागि राखिएको भीमसेन जुजु भिंद्यःको नामबाट प्रख्यात छ । राजाबाट बनाउन लगाएका कारणले यस भीमसेनलाई जुजु भिन्धः भनिएको हो।
यो भीमसेन स्थापना गर्नु अघिको भीमसेनको मन्दिर गुम्बज शैलीको एकतलाको मात्र थियो। नेपालसम्वत ७८३ कार्तिक शुक्ल दशमीका दिन पाटनमा ठूलाे आगलागी भएका बेला भीमसेनको काठको मूर्तिसहित मन्दिरमा क्षति पुगेको थियो। आगलागीमा जलेर मूर्तिको टाउको मात्र बाँकि रहेको थियो।
राजा श्रीनिवास मल्लले सोही ठाँउमा ३ तलाको मन्दिर निर्माण गर्न लगाएर जलेको मूर्ति राख्न लगाउनु भएको थियो। पछि टाउको मात्र भएको मूर्तिको साटो पूर्णकदको मूर्ति राखेर राजा योगनरेन्द्र मल्लले ८०१ मा मन्दिर पुननिर्माण गर्नु भयो र ८२६ मा भीमसेन जात्रा चलाउनु भएको बंशावलीमा उल्लेख गरिएको छ। यो मन्दिर २०७२ सालको भूकम्पले क्षति गरेको हुनाले अहिले जनस्तरबाट पुनः निर्माणको क्रममा छ।
जात्राका लागि मन्दिरको दोश्रो तलाको अध्यारो कोठा राखिएको भीमसेनलाई बाहिर निकालिन्छ । मूर्ति निकाल्दा आँखा चिम्लेर लिनुपर्दछ । हातमा पर्नासाथ मूर्तिलाई रातो कपडाले छोपेर बाहिर ल्याइने गरिन्छ। मन्दिरको पछाडीको सत्तलमा राखि रंगरोगन गरिन्छ, विशेष श्रृंगार गरिन्छ ।
श्रृंगारको अन्तिममा मूर्तिमा आँखा कोरिन्छ । यसरी आँखा कोरिँदा पनि मूर्तिलाई नहेरिकन कोरिने गरिन्छ । त्यसपछि पट्कोका राजोपाध्यायले तान्त्रिक बिधीबाट मूर्तिमा प्राण प्रतिष्ठापन अर्थात जिवन्यास पूजा गर्दछ ।
यसरी तान्त्रिक पूजा गरिदाँ रातो वर्णको मूर्तिको रंग परिर्वतन भएर कहिलो कालो, कहिले निलो हुन्छ। यसरी रंग परिर्वतन हुने भएकोले हरेक वर्षको जात्रामा फरक फरक देवताको मूर्ति प्रयोग भएको होला भनेर धैरैले अनुमान गर्दछन् । तर हरेक वर्षको जात्रामा फरक फरक मूर्तिको नभइ एउटै मूर्तिको जात्रा गरिने तर मूर्तिको रंग हरेक वर्ष एउटै भने हुँदैन । देवता कुन रंगको भयो त्यस अनुसार जात्रामा विध्न बाधा आउँछ या शान्तिपूर्ण रूपमा संचालन हुन्छ भनेर पहिल्यै अनुमान लगाउने गरिन्छ।
त्यसपछि मात्र जात्राको धार्मिक विधि सुरु गरिन्छ । मूर्तिलाई धातुको विशेष खटमा राखेर सौगल, ओकुबहाल , हौगल , तिच्छुगल्ली , पुर्णचण्डी , पिम्बहाल कुम्भेश्वर हुदै मंगलबजार पुर्याएर समापन गरिन्छ। जात्रा समापनसँगै जात्राको लागि प्राण प्रतिस्थापन गरेर तानेको देवतालाई राजोपाध्यायबाट नै तान्त्रिक पूजा गरेर फिर्ता पठाउने गरिन्छ।
बासनादार धुपको विशेष महत्व राख्ने भीमसेन जात्रालाई जनसहभागिताको हिसाबमा ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा पछिको दोश्रो ठूलो जात्राको रुपमा लिइन्छ । यस जात्रामा काठमाडौं , भक्तपुर र थिमीका व्यापारीहरुले क्षमा पूजा गरेर सरीक हुने गर्दछन् । विशेष गरेर व्यापारीहरुले भीमसेनलाई व्यापार व्यवसायको देवताको रुपमा लिएर पुज्ने गर्दछन् ।
विशेषत मंगलबजारका भीमसेनलाई मुख्य भीमसेनका रूपमा मानिन्छ। तर पनि पाटनमा अरू तीनवटा प्रख्यात भीमसेन छन् कुमाले समुदायबाट स्थापना गरिएको च्यासल भिन्द्योलाछिको कुम्हाःभिंद्यः, सुन्धारामा नृत्यमुद्रामा रहेका हिडम्बासहितका पुँभिंघः, गयोजुजुका नामबाट प्रख्यात योगेन्द्र आनन्द राजोपाध्यायबाट छाःबहालमा स्थापित द्यःभिंद्यः । यी बाहेक पनि भीमसेन पुजामा विभिन्न ठाँउमा अवस्थित ३० भन्दा धेरै भीमसेनको पुजा गरिन्छ।
यसपाली विहिबार परेको यो जात्रा कोरोना भाइरसको सङ्क्रमणका कारण नहुने भएको छ भने जात्रालाई पूजामात्र सिमित गरिने भएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।
Bimal
Aug. 12, 2020, 3:21 p.m.are you Sure that the color of the statue changes after it is taken out from the temple according to the belief how the Festival will last? otherwise we have been hearing from our childhood that the selection of statue color is from a blindfolded person And the color determines that years Festival situation - peaceful or arrogant......