विदेशमा सङ्कटमा परेका नेपालीको तत्कालै निःशुल्क उद्धार गर : मानव अधिकार आयोग

 साउन २९, २०७७ बिहिबार १७:०:४८ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रहेका नेपाली कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

विदेशमा रहेका नेपाली कामदार कोरोना महामारीको चपेटामा परेको विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य देशले एकतर्फी रुपमा करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्नेलगायतका गैरकानुनी काम गरिरहेको भन्दै यसलाई रोक्न कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको हो ।

काम गरेको अवधिको पूरा तलब, सुविधा र भुक्तानी नदिने, मापदण्डभन्दा धेरै समय वा जोखिमयुक्त अवस्थामा काम गराउने जस्ता श्रम अधिकार हनन हुनबाट नेपाली श्रमिकलाई संरक्षण गर्न पनि आयोगले सुझाएको छ । सङ्कटमा परेका नेपालीलाई स्वदेश फर्काउनको लागि हवाई टिकटको रकम श्रमिकले नभइ सरकारले नै व्यहोर्नुपर्ने पनि आयोगले जनाएको छ ।

विदेशमा अन्यायमा पारिएका नेपाली श्रमिकहको न्यायमा पहुँच तथा क्षतिपूर्तिको सुनिश्चितता गर्न गन्तव्य देशका सरकार, रोजगारदाता र नेपालमा रहेका श्रमिक भर्ना गर्ने निजी संस्थालाई जिम्मेवार बनाउन पनि आयोगले अध्ययन प्रतिवेदनमार्फत सिफारिस गरेको छ ।

आयोगले बेखर्ची, रोजगारदाताले हवाई टिकट उपलब्ध नगराएका र कागजातविहीन आप्रवासी नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय हवाई भाडा, यातायात तथा खाना खर्च र यात्राका क्रममा आवश्यक खानेपानी, खाना, आवास आदिको व्यवस्था गर्न पनि सिफारिस गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया