बबई नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसोसम्म नै सतर्क हुन आग्रह

 भदौ ३, २०७७ बुधबार ७:३०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बर्दियामा बबई नदीमा ठूलो बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले बर्दिया, कैलालीको चिसापानी र टिकापुर तथा कञ्चनपुरका केही ठाउँमा राति ठूलो पानी परेको र अहिले पनि पर्ने क्रम चलिरहेको भन्दै दिउँसो १२ बजेसम्म नै बबईसहित कान्द्रा, मोहना, खुट्टिया, स्याउली, चौधर लगायतका नदीमा एक्कासि बाढी आउने भएकाले तटीय क्षेत्र र डुबान भैरहने ठाउँका बासिन्दालाई सुरक्षित बस्न अनुरोध गरेको छ ।

यस्तै डडेलधुराको रंघुन–पन्टुरागाड नदी जलाधारमा राति निकै ठूलो पानी परेकाले महाकाली दोभानसम्मको क्षेत्रमा ठूलो बाढी आउने भएकाले बिहान १० बजेसम्म नै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले पनि देशभरि कै मौसम सामान्य बदली भइ कञ्नपुर, डडेलधुरा, डोटी, कैलाली, बर्दिया, अछाम, सुर्खेत आसपास पानी परिरहेको छ । यी ठाउँमा पानी पर्न कम भए पनि आजको मौसम पूर्ण रुपमा भने नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार आज देशभरी कै मौसम बदली भइ थोरै ठाउँमा ठूलो पानी पर्ने छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ नजिकै रहेको तथा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदुरपश्चिम कप्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यस्तै मध्य र पूर्वको तुलनामा पश्चिममा धेरै पानी पर्ने पनि उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा अहिले बादल लागेको भए पनि विस्तारै मौसम खुल्दै जाने र दिउँसोपछि फेरि बादल लागेर पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया