बेइजिङमा घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

 भदौ ५, २०७७ शुक्रबार १४:१६:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको राजधानी बेइजिङमा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था हटेको छ । बेइजिङ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बढी भिडभाडमा जाँदा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अब बेइजिङमा ठूलो भिडभाड वा अरु मानिससँग एकदमै नजिक जानुपर्ने भए मात्रै मास्क लगाउनुपर्ने छ । सार्वजनिक ठाउँमा थुक्न नपाइने व्यवस्था तथा अभिभावकको निगरानी विना बालबालिकालाई घरबाहिर जान रोक लगाउने व्यवस्था भने कायमै छ ।

काेराेना भाइरसका नयाँ सङ्क्रमित भेटिने क्रम घटेसँगै चीनमा विभिन्न प्रतिबन्ध हटाइँदै लगिएका छन् । जसअन्तर्गत बेइजिङमा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था पनि हटेको खबरमा उल्लेख छ ।

यसैबीच गएकाे डिसेम्बरकाे अन्त्यतिर कोरोनाकाे सङ्क्रमण फैलिन सुरु भएको मानिएको वुहानमा एउटा स्विमिङ पुलमा भएको जमघटमा धेरै मानिस सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो । जहाँ उपस्थित कसैले पनि मास्क लगाएका थिएनन् ।

चीनमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ सङ्क्रमित भेटिएका छन् । झण्डै चार महिनादेखि चीनमा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ ।

चीनमा अहिलेसम्म ८४ हजार नौ सय १७ जनामा कोरोना सङ्क्रमण भएकोमा चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ । ७९ हजार सात सय ९२ जना निको भएका छन् । अहिले चीनमा चार सय ९१ जना मात्रै सक्रिय सङ्क्रमित रहेकाे चीनको स्वास्थ्य विभागले जनाएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया