किसान सोध्छन् : ‘कसरी धानको उत्पादन बढ्छ सरकार ?’

 भदौ ७, २०७७ आइतबार ७:१७:५४ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा गौरादहका वेदनिधि चापागाईंको खेतमा यसपालि युरिया मलविनै धान हुर्किँदै छ ।

रोप्दा र हुर्किँदै गर्दा युरिया मल राख्न  पाएको भए धान हलक्कै बढ्ने थियो । तर युरिया मल नहुँदा धानले गाँज नै हालेको छैन । झार उखेलिसकेपछि पनि युरिया मल नपाएपछि उहाँ निराश हुनुहुन्छ । ‘पानी परेपछि धान राम्रै उत्पादन हुने आश लागेको थियो’ उहाँले भन्नुभयो, ‘चाहिने बेला रासायनिक मल भएन, अब बेला नै घर्किन लाग्यो, यसपालि पोहोर परार जति पनि फल्दैन जस्तो छ । पोहोर जत्तिकै फले राम्रै हुने थियो ।’

सरकारले भनेजस्तो उत्पादन बढ्ने छाँट छैन

चितवनको दिव्यनगरमा धानखेती गरिरहेका भरतपुर महानगरपालिका २ बस्ने मित्रराज दवाडीको पीडा पनि उस्तै छ । मुख्य आम्दानीको स्रोत धानखेतीमा यसपालि रासायनिक मल पुगेन । गोडमेलको काम सुरु भएको छ । धानले सरा हालेको छ ।

यो बेला पनि मल चाहिन्छ, तर बजारमा पाइँदैन । ‘मलको अभाव सधै हुन्थ्यो, तर यो वर्ष जस्तो दानो नै देख्न नपाउने गरी अभाव कहिल्यै भएको थिएन’ दवाडीले गुनासो गर्नुभयो । सरकारले यसपालि धानको उत्पादन बढ्ने अनुमान गरेको सुनेका दवाडी सोध्नुहुन्छ, विना मल सरकारले भनेजस्तो कसरी धानको उत्पादन बढ्छ ? उहाँ आफैं पनि कृषि प्राविधिक भएकाले मलको आवश्यकता र मात्राबारे जानकार हुनुहुन्छ ।

 ‘धानबालीको उत्पादन बढी लिन रोप्दा, गोडमेल गर्दा र दाना लाग्नु अगाडि गरी कम्तिमा तीन पटक युरिया मल राख्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो, ‘तर यसपालि रोप्दा र पहिलो पटक गोडमेल मल राख्न पाइएन । बिरुवाले खोजेको बेला मल हाल्न नपाएपछि उत्पादन बढ्ने छाँट छैन, बरु २० देखि ३० प्रतिशतसम्म उत्पादन घट्न सक्छ ।’ मल नपाएपछि चापागाईं र दवाडी जस्तै धानखेती गर्ने किसान उत्पादन र आम्दानी घट्ने पिरमा छन् । 

मनसुनले साथ दियो, मल पाइएन

मुख्य खाद्यान्न बाली धान खेतीका लागि मनसुनको भर पर्नुपर्ने बाध्यता छ । आकाश हेरेर खेत पस्नुपर्ने किसानको बाध्यता छ । तर यसपालि मौसम अनुकूल भयो । जेठ नसकिंदै मनसुन भित्रियो । कोरोना महामारीपछि गाउँघरमा जनशक्ति बढ्यो ।

जनशक्ति र मनसुनको साथ पाएपछि धेरैलाई धान उत्पादन बढ्ने आश जागेको थियो । तर सरकारले युरिया मल ल्याउन सकेन । रोपाइँ सुरु गर्दा मल नपाएका किसानले गोडमेल गर्ने बेलामा पनि मल पाएका छैनन् । साउनमा युरिया ल्याउने भनेको सरकारले भदौ पहिलो हप्ता बित्नै लाग्दा पनि अझै मल ल्याउन सकेको छैन । 

सरकारले खरिद गरेको युरिया मल कोरोना सङ्क्रमण जोखिमका कारण भएको लकडाउनका कारण भारतको कलकत्तामा रोकिएको हो । असारमा नेपाल आइपुग्नुपर्ने युरिया मल अहिलेसम्म भित्रिन सकेको छैन । धानमा मल राख्न ढिला हुँदा किसानलाई छटपटी भएको छ । मन हाल्न नपाएका किसानलाई मुख्य आम्दानीको स्रोत धानबालीको उत्पादन घट्ने चिन्ता छ । 

५ वर्षको धान उत्पादन तथ्याङ्क २०७२/०७३ मा झण्डै ४३ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसपछिका वर्षमा धानको उत्पादन ५० लाख मेट्रिक टनभन्दा घटेको छैन । 

२०७३/०७४ मा ५२ लाख ३० हजार 
२०७४/०७५ मा ५१ लाख ५१ हजार
२०७५/०७६ मा ५६ लाख १० हजार
२०७६/०७७ मा ५५ लाख ५० हजार
२०७७/०७८ मा ६० देखि ६५ लाख अनुमानित ।

सरकारले अबको दुई वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ । ६६ लाख मेट्रिक टन धान उत्पादन भए नेपाल धानमा आत्मनिर्भर हुनेछ ।

उत्पादन बढ्छ : कृषि मन्त्रालय

किसानले मल नपाएर चिन्ता गरेका बेला सरकारले भने धानको उत्पादन बढ्ने अनुमान गरेको छ । कोरोनापछि सहरबाट गाउँ गएको जनशक्ति र जेठ नसकिँदै सुरु भएको मनसुनको सकारात्मक प्रभावका कारण यसपालि अहिलेसम्मकै धेरै क्षेत्रफलमा धान रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार अब पनि मौसमले साथ दिए यसपटक ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । बेलैमा मल उपलब्ध गराउन नसकेपछि सरकारले किसानलाई युरिया मलको सट्टामा डीएपी, गोठेमल विकल्पका रुपमा प्रयोग गर्न र रोगकीरा लाग्न नदिन आग्रह गरेको छ ।

 अब पनि मौसमले साथ दिएको खण्डमा र रोग कीरा नलागे धान उत्पादन पोहोरभन्दा बढ्ने मन्त्रालयका प्रवक्ता एवं सहसचिव हरिबहादुर केसीको दावी छ । ‘सरकार सकेसम्म छिट्टै मल उपलब्ध गराउन प्रयत्नशील छ’ उहाँले भन्नुभयो, ‘अब पनि यसैगरी मौसमले साथ दियो भने उत्पादन नघट्ने अनुमान छ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया