आइसोलेशन तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ

 भदौ ७, २०७७ आइतबार १४:२९:८ | नवीन गुरुङ
unn.prixa.net

(हिमालय किरण क्याम्पसको आइसोलेसन तोडफोड । तस्बिर—नवीन गुरुङ/उज्यालो)

सङ्खुवासभा —खाँदबारी नगरपालिका ७ को नयाँबजारमा रहेको हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेसन तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । 

आइसोलेशन कक्ष तोडफोड र स्वस्थ्य सामग्री लुकाएको आरोपमा प्रहरीले डाक्टर मातृका तिम्सिनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताउनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालले किटानी जाहेरी दिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको बताउनुभयो । 

आइसाेलेशन ताेडफाेड गरेकाे आराेपमा पक्राउ परेका क्याम्पस प्रमुख

क्याम्पस प्रमुख तिम्सिनाको अगुवाइमा आइसोलेशन कक्ष तोडफोड भएको आरोप लागेकाे छ । प्रहरीले तिम्सिनालाई नियन्त्रणमा लिएर अपराधिक उपद्रव गर्न नहुने मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कोरोना सङ्क्रमितको उपचारको लागि जिल्ला अस्पतालको लगानीमा आइसोलेशन निर्माण गरिएको हो । 

घटनाकाे नालीबेली  

जिल्ला अस्पतालले झण्डै पाँच महिना अगाडि हिमालय किरण क्याम्पसमा १० बेडको आइसोलेशन कक्ष निर्माण गरेको थियो । त्यहाँ १५ लाख ८५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री रहेको जिल्ला अस्पतालले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । गएको शुक्रबार राति आइसोलेशन कक्षमा तोडफोड भएको थियो । 

गएको साउन २५ गते सरकारले विद्यालय र क्याम्पसमा भएको क्वरेण्टीन र आइसोलेशन हटाउने निर्णय गरे पनि अस्पतालले आइसोलेशन नहटाएपछि क्याम्पस प्रशासन र स्थानीय आक्रोशित भएका थिए । क्याम्पस प्रशासनले आइसोलेशन हटाउन माग गर्दै पटक–पटक पत्राचार गरेको थियो । 

आइसोलेसन हटाउन पटक–पटक छलफल र बैठक भए पनि जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) ले सङ्खुवासभामा आइसोलेशन निर्माण गर्न खाँदबारी आसपासमा जग्गा खोजी गरे पनि उपलब्ध हुन सकेको थिएन । खाँदबारी ९ को ढुङ्गेबिसौनीमा रहेको चन्द्रोदय आधारभूत विद्यालयमा आइसोलेशन निर्माण गर्ने तयारी गरिए पनि स्थानीयको विरोधपछि स्थगित भएको थियो । 

त्यहीबीचमा गएको मङ्गलबार धर्मदेवीको पिलुवामा रहेको क्वरेण्टीनमा पीसीआर परीक्षण गर्दा तीन जनाको पोजेटिभ रिर्पोट आएको हो । उनीहरुलाई तत्काल आइसोलेशन ल्याउने भएपछि विवाद उत्पन्न भएको हो । 
ती सङ्क्रमितको त्यही हिमालय क्याम्पसको आइसोलेशनमा राखेर उपचार भइरहेको छ भने जिल्लास्तरीय आइसोलेशन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

2 Comments

  • सुमन राज शर्मा

    Aug. 23, 2020, 8:13 p.m.

    कस्तो चिलथाङ्ग्रे क्याम्पस प्रमुख रहेछ ?पढेलेखेको मान्छे त हो यो? की भागबन्डा मिलाउने क्रममा नियुक्ति पाएको हो? बुद्धि भएको मान्छेले त यस्तो खालको निच कार्य गर्दैनन् त?

  •  0 Reply
  • Bishnu Bohara

    Aug. 23, 2020, 6:38 p.m.

    पक्राउ गर्ने मात्रै होइन,नीजका घरघरानाबाट क्षतिपूर्ति हर्जाना असुल उपर गरि क्याम्पस प्रमुखबाट भविष्यमा सरकारी सेवामा अयोग्य घोषणा गरि ६ महिना जेल सजायँ गरिनु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया