नियमित र चार्टर्ड उडानको तालिका बन्दै, पीसीआर सहज नभएका देशबाट चार्टर्ड उडान हुने

 भदौ ७, २०७७ आइतबार १७:१३:२ | रासस
unn.prixa.net

काठमाण्डौ – नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेपछि तयारी थालिएको हो ।

कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको छ । उडानका लागि पर्यटन मन्त्रालयले नियामक प्राधिकरणको समन्वयमा उडान तालिका बनाउनेछ । 

मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले सरकारको निर्णयअनुरुप दैनिक ५०० यात्रु नबढ्ने गरी नियमित उडानको तालिका बनाउन मन्त्रालय जुटेको बताउनुभयो । उहाँका अनुसार पर्यटन मन्त्रालय, नियामक प्राधिकरण र सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरेर नियमित उडानको तालिका बनाइनेछ ।

सरकारी निर्णयअनुरुप पीसीआर परीक्षण सहज भएका देशबाट नियमित र पीसीआर सहज नभएका देशबाट उद्धार चार्टर्ड उडान गरिनेछ । ‘सरकारको निर्णयअनुरुप भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन हामी लागिपरेका छौँ, सोमबार या मङ्गलबारभित्र उडान तालिकाको टुङ्गो लगाइनेछ’, सह–प्रवक्ता पौडेलले भन्नुभयो ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न देशका एअरलाइन्सले नियमित उडान गर्नेछन् । सह–प्रवक्ता पौडेलका अनुसार दैनिक ५०० मात्रै यात्रु ल्याउने निर्णयअनुरुप वाइडबडी ए ३३० जहाजको हकमा दैनिक दुई वडा तथा न्यारोबडी ए ३३० जहाजमार्फत उडान गरिए दैनिक तीनवटा जहाजले नियमित उडान गर्नेछन् । यी उडानमा नेपालीसहित विदेशी एअरलाइन्सले तालिकाअनुसार उडान भर्नेछन् ।

चार्टर्ड उडानको छुट्टै तालिका

पीसीआर सहज नभएका देशबाट भने उद्धार चार्टर्ड उडान सञ्चालन गरिनेछ । चार्टर्ड उडानको छुट्टै तालिका बनाइने मन्त्रालयले जनाएको छ । सरकारले नियमित उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आवश्यक तयारीका लागि पर्यटन मन्त्रालय र प्राधिकरण जुटेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारी निर्णयअनुसार दैनिक ५०० यात्रु ल्याउने गरी सम्बन्धित देश र गन्तव्यबाट हुने उडान तालिकाको तयारीमा जुटेको जानकारी दिनुभयो । 
‘भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन छलफलमा जुटेका छौँ, उडान तालिका छिट्टै टुङ्ग्याउँछौँ,’ उहाँले भन्नुभयो । 
सरकारले पीसीआर परीक्षण सहज भएका देशहरु मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली देशबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गर्ने निर्णय गरेको छ ।
पीसीआर सहज नभएका देशहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य देशबाट नियमित उडानमार्फत यात्रु ल्याउन पाइनेछैन । यी देशबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काइने छ । 
सरकारले नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका देशबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावलीबमोजिमका यात्रुको लागि चार्टर्ड उडान गरेर ल्याउने जनाएको छ ।
यसरी आउने यात्रुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाण्डौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेण्टीनमा बस्नुपर्नेछ । पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेण्टीनमा राखिने छ र त्यसको सबै खर्च एअरलाइन्सले व्यहोर्नु पर्छ ।
    यस्तै पीसीआर टेष्ट सहज नभएका देशहरुमा चार्टर्ड फ्लाइट मात्र सञ्चालन  हुने जनाइएको छ । पीसीआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा सङ्क्रमण फैलिने जोखिम रहेकाले त्यस्ता देशबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गरिनेछ । 
    लकडाउनको पाँच महिनापछि नियमित उडान शुरु हुन लागेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म देशभर लकडाउन लागू गरेको थियो ।
    कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को भदौ ४ गतेसम्मको विवरणअनुसार विभिन्न देशबाट उद्धार उडानमार्फत नेपाल फिर्ता भएका नेपालीको सङ्ख्या ५१ हजार ९८७ रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।
चार्डर्ड उडानको तालिका आउँदै
    भदौ १६ देखि शुरु हुने नियमित उडान अगाडि अर्थात आगामी भदौ १५ र त्यसपछि नियमित उडानको समयमा पनि पीसीआर सहज नभएका देशबाट चार्टर्ड उडान हुने भएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चाटएर्ड उडान हुन लागेको हो । नेपालका दुई नेपाल एअरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एअरलाइन्सले उद्धार उडानमार्फत नेपालीलाई स्वदेश फर्काउनेछन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया