अरुण तेस्रोमा कार्यरत भारतीय मजदुरमा कोरोना सङ्क्रमण

 भदौ ७, २०७७ आइतबार १८:२२:४४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा — सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तोस्रो जलविद्युत् आयाेजनामा कार्यरत एक जना मजदुरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ  ।

अरुण तोस्रोमा कार्यरत भारतको बिहार घर भएका ३२ वर्षीय पुरुषलाई आइतबार कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रवक्ता रोषण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको बिहारबाट फर्किएका चार जनामध्ये एक जनालाई कोरोना पोजेटिभ देखिएको हो । 
    
उनीहरु भारतबाट फर्केपछि अरुण तेस्रोले निर्माण गरेको क्वरेण्टीनमा बसिरहेका थिए । उनीहरुको केही दिन अगाडि स्वाब सङ्कलन गरेर पठाएको थियो । अहिले सङ्क्रमित मजदुरको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

सङ्क्रमित पुरुषलाई खाँदबारीको हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आइसोलेशनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सङ्खुवासभामा अहिलेसम्म आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । तीमध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन् । सक्रिय सङ्क्रमित तीन जनाको हिमालय किरण क्याम्पसको आइसोलेशनमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: चैत २६, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया