थन्क्याइएका गाडीभित्र दौडन थाले मुसा, व्यवसायीलाई ऋण तिर्ने चिन्ता

 भदौ ७, २०७७ आइतबार १९:४५:८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – चौरजहारी नगरपालिका–१ का यातायात व्यवसायी तेजबहादुर बिष्टले घरमै बस थन्क्याएको करिब ५ महिना भयो । 

घरजग्गा समेत धितोमा राखेर निकालेको बस थन्क्याएर राख्दा मासिक रुपमा तिर्नुपर्ने बैंकको किस्ता तिर्न सक्नुभएको छैन । बैंकबाट आउने फोन र बस निकाल्दा लागेको ऋण सम्झेर उहाँलाई डिप्रेशन हुने डर छ । 

यातायात व्यवसायमा लागेका मुसिकोट नगरपालिका –९ का शिव गिरीको हालत पनि उस्तै छ । बैंकबाट बस लिलाम गरिदिन्छौ भन्दै बैंकबाट आउने फोनले उहाँलाई चयनले बस्न खान दिएको छैन । कस्तो पेशामा हात हालिएछ भन्दै पुर्पुरोमा हात लगाएर पश्चाताप गर्नुहुन्छ, उहाँ । 

प्रेम र शिव जस्तै रुकुम पश्चिममा रहेका ५ वटा यातायात प्रा.लि.मा आवद्ध करिब २ सय ५० व्यवसायीहरु कोरोना सङ्क्रमणपछि भएको लकडाउनका कारण ऋणमा चुर्लुम्म डुबेका छन् । पाँच महिना देखि उनीहरुका गाडी बसपार्क, ग्यारेज त कतिपयका घरमै थन्किएका छन् । 

सिस्ने हिमाल बस तथा मिनिबस यातायात प्रा.लि.का अध्यक्ष जितेन्द्र बुढाथोकी कतिपय यातायात व्यवसायीले घरखेत बन्दकी राखेर, ऋण निकालेर गाडी किनेको तर लकडाउनका कारण निकै घाटा व्यहोर्नुपरेको बताउनुहुन्छ ।

‘गाडी भित्र कतै घाँस उम्रिएको छ, कतै मुसाले घर बनाएका छन्,’ अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘बैंकको किस्ता तिर्न नसक्दा व्यवसायीहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् ।’

सरकारले व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै आवश्यक मापदण्ड अपनाएर गाडी सञ्चालन गर्ने निर्णय गरेको भए पनि गाडी चलाउने वातावरण नभएको व्यवसायीको गुनासो छ । अध्यक्ष बुढाथोकीका अनुसार, महिनौँ थन्क्याइएका गाडी चलाउन सक्ने अवस्थामा छैनन् । 

‘गाडीका टायर समेत पड्केका छन्, प्राय गाडीका ईन्जिन मर्मत गर्नुपर्ने छ’ अध्यक्ष बुढाथोकिले भन्नुभयो, एउटै गाडी मर्मत गर्नलाई करिब ५० हजार देखि ३ लाखसम्म खर्च गर्नुपर्ने देखिन्छ, यस्तो बेला त्यो रकम खर्चिने स्थिति नै छैन ।’

यस्तो अवस्थामा बैंकका कर्मचारीहरुले घर घरमै आएर व्यवसायी खोजेर किस्ताको लागि तनाब दिने गरेको व्यवसायी महेन्द्र गौतमले बताउनुभयो । घरजग्गा बेचेर यातायातमा गरेको लगानी डुबेको उहाँको भनाइ छ । 

सानोभेरी यातायात प्रा.लि.का डेबिट गौतमले बाटोमा गाडी निकाले बैंकले थुत्ने अवस्था आएको बताउनुभयो । उहाँका  पनि प्राय गाडीका इन्जिनमा खिया लागेका छन् । लकडाउनले गर्दा गाडी बन्द भएपछि जिल्लाका सबै यातायात प्रा.लि.का कर्मचारीको दैनिक गुजारा चलाउन नै समस्या भएको छ । 

विभिन्न आन्दोलन, महामारीका बेला उद्धार तथा मानवीय अन्य कार्यमा सरकारलाई यातायात व्यवसायीले गरेको सहयोग भुलेर व्यवसायीको मागको सुनुवाई नगरेको व्यवसायीको गुनासो छ । राज्यको अर्थतन्त्रमा परेको असरलाई कम गर्न सबैभन्दा बढी कर तिर्ने क्षेत्र यातायात व्यवसायीको माग सम्बोेधन गर्नुपर्ने उनीहरुको भनाइ छ । 

 

अन्तिम अपडेट: चैत २२, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया