पुनर्निर्माण प्राधिकरणको ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ सुरु

 भदौ ८, २०७७ सोमबार १७:३३:२४ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले साेमबारदेखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ सुरु गरेको छ । प्राधिकरणले पाँच वर्षदेखि गरेका कामको अनुभव आदानप्रदान गर्न भर्चुअल माध्यमबाट ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ काे सुरु गरेको हो । 

तीन दिनसम्म चल्ने कार्यक्रममा २०७२ सालको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनाकाे कामबाट प्राप्त गरेका अनुभव र सिकाइ आदान–प्रदान हुने छ । 

कार्यक्रमको शुभारम्भ गदैं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणका धेरैजसाे काम सम्पन्न गरेको बताउनुभयो । सात लाख ९० हजारभन्दा बढी निजी घरको पुनर्निर्माणका लागि अनुदान सम्झौता सम्पन्न भएकोमा अहिलेसम्म ७६ प्रतिशत अर्थात् ६ लाखभन्दा बढी घर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले ८८ प्रतिशत घरको दोस्रो चरणको काम सम्पन्न भएको र ९० प्रतिशत घरधनीले निर्माणका लागि सम्झौता गरिसकेको बताउनुभयो । 

त्यस्तै चार हजार आठ सय २९ घरमध्ये अधिकांशलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउनुभयो । सात हजार पाँच सय ५३ विद्यालयमध्ये ७५ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयाे । 

त्यस्तै सामुदायिक भवन, सांस्कृतिक सम्पदा, स्वास्थ्य संस्थालगायतका संरचनाको पुनर्निर्माण पनि सन्तोषजनक रहेको ज्ञवालीले बताउनुभयो । उहाँले पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा प्राप्त भएका सफलता, उपलब्धि एवं कमीकमजोरीबारे परिसंवादमा समीक्षा हुने र साझा धारणा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । 

प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र अभिलेखीकरण गर्ने उद्देश्यले आउँदाे नोभेम्बरमा काठमाण्डाैमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

त्यसको तयारीका लागि भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गरेको प्राधिकरणले बताएको छ । परिसंवादमा पुनर्निर्माण र पुनर्स्थापनका ६ वटा विषयगत क्षेत्रहरु निजी अवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ । 

परिसंवादमा ६० वटा शोधपत्र प्रस्तुत हुनेछन् । कार्यक्रममा प्राधिकरणका अधिकारी, विभिन्न सरकारी निकायका प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि र कार्यपत्र प्रस्तोता सहभागी भएका छन् । कार्यक्रम भदौ ११ गतेसम्म चल्ने छ । 

अन्तिम अपडेट: भदौ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया