भोजपुर प्रवेश गर्ने नाका १५ दिन बन्द हुने

 भदौ ८, २०७७ सोमबार २०:३८:४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुर प्रवेश गर्ने सबै नाका मङ्गलबारदेखि १५ दिनका लागि बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि बसेको सरोकारवालाहरुको बैठकले सबै नाका १५ दिन बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सबै नाका बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयाे ।  

यस्तै जिल्लाभर सञ्चालनमा रहेका साना तथा ठूला सबै होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारी साधनलाई नाकामा निर्मलीकरण गरिने भएको छ । निर्मलीकरणमा लागेको खर्च उद्योग वाणिज्य सङ्घ भोजपुरले व्यवस्था मिलाउने र मालवाहक साधनमा यात्रु ओसार्ने कार्य गरेमा त्यस्तो सवारी साधनलाई यात्रुसहित फिर्ता पठाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

भोजपुर नगरपालिका ६ काे देउरालीमा रहेको क्वरेण्टीन स्थलमा २० शय्या, पर्यटन सूचना केन्द्र टक्सारमा १६ शय्या, जिल्ला अस्पतालमा १० शय्या र अस्पतालको कुरुवा घरमा १४ शय्या क्षमताको आइसोलेशन वार्ड बनाइने भएको छ । प्रत्येक पालिकाका स्वास्थ्य केन्द्रमा पाँच वटा अक्सिजन सिलिण्डरसहितको उपचार व्यवस्था मिलाइने भएको छ ।

अरुण गाउँपालिकाको जरायोटारमा रहेको होल्डिङ सेन्टर व्यवस्थापन तथा भोजपुर धनकुटा जोड्ने एकमात्र लेगुवाघाटकाे हेल्प डेक्स सञ्चालनलाई निरन्तरता दिनका लागि भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाले १४ लाख र अन्य सात गाउँपालिकाले पाँच लाखका दरले जम्मा ४४ लाख रकम सङ्कलन गर्ने तयारी गरेको छ । 

ती पालिकाले पहिलो किस्तास्वरुप ४० प्रतिशत रकम तत्काल उपलब्ध गराउने निर्णय भएको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया